

कैलाली- कैलालीका तीन निजी अस्पतालले स्वास्थ्यसम्बन्धी कानुनी मापदण्ड पूरा नगरी सेवा सञ्चालन गरेको पाइएको छ। स्वास्थ्य कार्यालय कैलालीले गरेको अनुगमनका क्रममा अत्तरिया हस्पिटलले स्वीकृतिबिनै क्याथ ल्याब सञ्चालन गरेको, पद्यमा अस्पतालले इजाजत नलिई प्रयोगशाला सञ्चालन गरेको र दोगडा सामुदायिक अस्पतालले इजाजतपत्र नवीकरण नगरी सेवा दिइरहेको पाइएको हो।
स्वास्थ्य कार्यालय कैलालीका अनुसार १०० शय्यामा सञ्चालन भइरहेको अत्तरिया हस्पिटलले जनरल अस्पतालका रूपमा सञ्चालन अनुमति लिएको छ। तर, अस्पतालले कार्डियाक क्याथेटराइजेसन अर्थात् क्याथ ल्याब सेवा सञ्चालन गरिरहेको पाइएको छ।
जनस्वास्थ्य सेवा नियमावली, २०७७ को अनुसूची–७ अनुसार क्याथ ल्याब सञ्चालनका लागि १०० शय्याको विशेषज्ञ अस्पताल हुनुपर्ने व्यवस्था छ। जनरल अस्पतालको अनुमति लिएर विशेषज्ञ अस्पतालले मात्र सञ्चालन गर्न पाउने सेवा दिइरहेको पाइएपछि कारबाहीका लागि स्वास्थ्य निर्देशनालयलाई पत्राचार गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
स्वास्थ्य कार्यालयका निजी स्वास्थ्य संस्था अनुगमन संयोजक सूर्य विष्टका अनुसार गत साउन २२ गते गरिएको अनुगमनका क्रममा अत्तरिया हस्पिटलले गैरकानुनी रूपमा क्याथ ल्याब सञ्चालन गरेको भेटिएको हो। हालको स्वीकृतिअनुसार अस्पतालले जनरल फिजिसियन, जनरल सर्जरी, स्त्रीरोग तथा प्रसूति, बालरोग तथा शिशु सेवासहित १२ प्रकारका सेवा मात्र सञ्चालन गर्न पाउने कार्यालयले जनाएको छ।
यसैबीच, अत्तरियाकै ५० शय्याको पद्यमा अस्पतालले समेत इजाजत नलिई प्रयोगशाला सञ्चालन गरेको पाइएको छ। अनुगमनका क्रममा प्रयोगशाला सञ्चालनको अनुमति नलिएको भेटिएपछि आवश्यक कारबाहीका लागि स्वास्थ्य निर्देशनालयलाई सिफारिस गरिएको विष्टले बताए।
यस्तै, १५ शय्यामा सञ्चालित दोगडा सामुदायिक अस्पतालको इजाजतपत्रको म्याद सकिएको अवस्थामा समेत सेवा सञ्चालन भइरहेको पाइएको छ। इजाजतपत्र नवीकरण नगरी सेवा सञ्चालन गरेको भेटिएपछि स्वास्थ्य कार्यालयले गोदावरी नगरपालिकालाई अस्पतालको सेवा तत्काल रोक्न निर्देशन दिएको छ।
विष्टका अनुसार इजाजतपत्रको म्याद सकिएपछि कुनै पनि अस्पतालले सेवा सञ्चालन गर्न पाउँदैन। इजाजतपत्र नवीकरण गरेपछि भने सेवा पुनः सञ्चालन गर्न सकिनेछ।
अत्तरिया हस्पिटलले स्वीकृत मापदण्डबाहिर गएर विशेषज्ञ सेवा सञ्चालन गरेको विषयमा यसअघि पनि प्रश्न उठ्दै आएको थियो। गत असारमा छाती दुख्ने समस्या लिएर अस्पताल पुगेका बैतडीको पाटनका हेमन्त भण्डारीको मुटुको शल्यक्रियापछि मृत्यु भएको घटनालाई लिएर समेत परिवारले अस्पतालविरुद्ध कानुनी उपचार खोज्ने तयारी गरिरहेको जनाएको छ।



