

बैतडी – नेपालको ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा लिनु आफैंमा चुनौतीपूर्ण छ। त्यसमाथि यौन तथा प्रजनन स्वास्थ्यसँग जोडिएका विषयमा खुलेर कुरा गर्न अझै पनि धेरै महिला तथा पुरुष हिच्किचाउने गर्छन्। महिनावारी, गर्भावस्था, परिवार नियोजन तथा यौन स्वास्थ्यसम्बन्धी समस्या भए पनि लाज र संकोचका कारण कतिपयले समस्या लुकाएरै बस्ने गरेका छन्।
तर बैतडीको मेलौली नगरपालिका–१ जर्कुस्थित नगर स्वास्थ्य क्लिनिकमा कार्यरत नर्स गरिमा दयालले स्वास्थ्य सेवा र सामाजिक सञ्जाललाई जोडेर यो अवस्था विस्तारै बदल्दै लगेकी छन्। चार वर्षअघि मनोरञ्जनका लागि टिकटकमा भिडियो बनाउन थालेकी गरिमाले अहिले सामाजिक सञ्जाललाई स्वास्थ्य शिक्षा र जनचेतनाको माध्यम बनाएकी छन्। आफ्नै आवाजमा महिला स्वास्थ्य, यौन तथा प्रजनन स्वास्थ्य, गर्भावस्था, सुरक्षित मातृत्व र परिवार नियोजनलगायत विषयमा जानकारीमूलक सामग्री बनाउँदै आएकी छन्।
सामाजिक सञ्जालमा उनका सामग्री हेर्नेहरूले स्वास्थ्यसम्बन्धी जिज्ञासा राख्न थालेपछि उनले ती प्रश्नको जवाफ दिन र आवश्यक परामर्श दिन थालिन्। यसरी मनोरञ्जनका लागि प्रयोग भएको मोबाइल विस्तारै स्वास्थ्य शिक्षा र जनचेतना फैलाउने माध्यम बन्यो। गरिमाका अनुसार चार वर्षअघिको तुलनामा अहिले सेवाग्राहीको व्यवहारमा समेत ठूलो परिवर्तन आएको छ। पहिले यौन तथा प्रजनन स्वास्थ्यका विषयमा खुलेर कुरा गर्न हिच्किचाउने महिलाहरू अहिले महिनावारी, परिवार नियोजन, गर्भावस्था तथा यौन स्वास्थ्यसम्बन्धी समस्या निर्धक्क भएर राख्न थालेका छन्। महिला मात्रै होइन, पुरुषहरू पनि यौन तथा प्रजनन स्वास्थ्यसँग सम्बन्धित जिज्ञासा लिएर स्वास्थ्य संस्थामा आउन थालेका छन्।
गरिमाको प्रभाव जर्कुको स्वास्थ्य क्लिनिकमा मात्र सीमित छैन। सामाजिक सञ्जालबाट उनको कामबारे जानकारी पाएका कतिपय सेवाग्राही उनलाई भेट्न तीन–चार घण्टासम्म हिँडेर आउने गरेका छन्। अन्य स्वास्थ्य संस्थामा सेवा लिएर पनि सन्तुष्ट नभएका केही सेवाग्राहीले समेत आफूलाई खोज्दै आउने गरेको गरिमा बताउँछिन्। उनका लागि यो सामाजिक सञ्जालमा पाएको लोकप्रियताभन्दा स्वास्थ्यकर्मीका रूपमा समुदायमा बनेको विश्वासको प्रमाण हो।
गरिमाले फेसबुक, टिकटक र युट्युबमार्फत नियमित रूपमा स्वास्थ्यसम्बन्धी सामग्री सार्वजनिक गर्दै आएकी छन्। फेसबुकमा करिब ५४ हजार, टिकटकमा २१ हजारभन्दा बढी फलोअर्स तथा ४ लाखभन्दा बढी लाइक्स र युट्युबमा एक हजारभन्दा बढी सब्सक्राइबर छन्। तर उनका लागि सामाजिक सञ्जालको सफलता फलोअर र भ्युजमा मात्र सीमित छैन। आफ्ना सामग्री हेरेर मानिसले स्वास्थ्यसम्बन्धी विषय बुझ्नु र आवश्यक पर्दा स्वास्थ्य संस्थासम्म पुग्नु नै ठूलो उपलब्धि भएको उनको बुझाइ छ।
गरिमाको डिजिटल अभियानले स्थानीय तहदेखि स्वास्थ्य निकायसम्मको ध्यानसमेत तानेको छ। पछिल्लो समय स्थानीय तह, जिल्ला स्वास्थ्य कार्यालय तथा स्वास्थ्य निर्देशनालयबाट स्वास्थ्यसम्बन्धी कक्षा, जनचेतनामूलक कार्यक्रम तथा प्रशिक्षणमा सहभागी हुन उनलाई बोलाउने गरिएको छ। कतिपय कार्यक्रममा उनी प्रशिक्षक तथा स्रोत व्यक्तिका रूपमा समेत सहभागी हुँदै आएकी छन्।
यौन तथा प्रजनन स्वास्थ्यजस्ता संवेदनशील विषयमा सामग्री बनाउँदा सबै प्रतिक्रिया सकारात्मक भने हुँदैनन्। केही प्रयोगकर्ताबाट अशोभनीय टिप्पणी, व्यक्तिगत प्रश्न तथा आपत्तिजनक प्रतिक्रिया आउने गरेको गरिमा बताउँछिन्। तर यस्ता प्रतिक्रियाका कारण आफ्नो अभियानबाट पछि नहटेको उनी बताउँछिन्। बरु यस्ता संवेदनशील विषयमा तथ्यमा आधारित र जिम्मेवार स्वास्थ्य सूचना प्रवाहको आवश्यकता अझ बढी रहेको उनको बुझाइ छ।
चार वर्षअघि सामान्य टिकटक भिडियोबाट सुरु भएको गरिमाको यात्रा अहिले डिजिटल स्वास्थ्य अभियानमा परिणत भएको छ। जर्कुको नगर स्वास्थ्य क्लिनिकमा प्रत्यक्ष स्वास्थ्य सेवा दिँदै आएकी उनले सामाजिक सञ्जालमार्फत आफ्नो पहुँच भौगोलिक सीमाभन्दा बाहिर पुर्याएकी छन्। दुर्गम गाउँमा कार्यरत एक स्वास्थ्यकर्मीले मोबाइलको सही प्रयोगमार्फत हजारौँ मानिससम्म स्वास्थ्यसम्बन्धी सूचना र परामर्श पुर्याउन सकिन्छ भन्ने उदाहरण गरिमाको अभियानले प्रस्तुत गरेको छ।



