

काठमाडौं – तौल घटाउन प्रयोग गरिने औषधिका कारण हुन सक्ने स्वास्थ्य जोखिमबारे बेलायतमा गम्भीर तथ्यांक सार्वजनिक भएको छ। बेलायतको औषधि तथा स्वास्थ्य सामग्री नियामक निकायसमक्ष तौल घटाउने औषधिको प्रयोगसँग सम्बन्धित हुन सक्ने २ सयभन्दा बढी मृत्युका घटना रिपोर्ट गरिएको छ। यस्तै, ती औषधिको प्रयोगपछि १ लाख ५८ हजारभन्दा बढी प्रतिकूल असरका घटना पनि दर्ता भएका छन्।
बेलायतमा औषधिको प्रयोगपछि देखिने सम्भावित प्रतिकूल असरबारे जानकारी संकलन गर्ने ‘यल्लो कार्ड’ प्रणालीमा प्राप्त विवरणअनुसार तिरजेपाटाइड नामक औषधिसँग सम्बन्धित १ लाख ६ हजार १८९ वटा प्रतिकूल असरका रिपोर्ट परेका छन्। यो औषधि ‘मुनजारो’ नामबाट तौल घटाउन तथा मधुमेह नियन्त्रणका लागि प्रयोग गरिन्छ। यससँग सम्बन्धित १२० जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ।
त्यस्तै, सेमाग्लुटाइड नामक औषधिसँग सम्बन्धित ४८ हजार ८९ वटा प्रतिकूल असरका रिपोर्ट छन्। यो औषधि तौल घटाउन ‘वेगोभी’ नामबाट प्रयोग गरिन्छ भने मधुमेहको उपचारमा पनि प्रयोग हुने औषधिमा यसको प्रयोग हुन्छ। सेमाग्लुटाइडसँग सम्बन्धित ५९ जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ।
लिराग्लुटाइड नामक औषधिसँग सम्बन्धित ४ हजार ४९१ वटा प्रतिकूल असरका घटना रिपोर्ट भएका छन्। यो औषधि ‘स्याक्सेन्डा’ नामबाट तौल घटाउन प्रयोग गरिन्छ। यससँग सम्बन्धित ३७ जनाको मृत्यु भएको रिपोर्ट छ।
यी औषधि प्रयोग गरेपछि देखिएका प्रतिकूल असरमध्ये पेट तथा पाचन प्रणालीसँग सम्बन्धित समस्या धेरै रहेको नियामक निकायले जनाएको छ। यसबाहेक स्नायु प्रणालीसँग सम्बन्धित समस्या, मानसिक स्वास्थ्यसम्बन्धी समस्या तथा अन्य स्वास्थ्य जटिलताका घटनासमेत रिपोर्ट भएका छन्।
तिरजेपाटाइड प्रयोगसँग सम्बन्धित रिपोर्टमध्ये ठूलो संख्या पेट तथा पाचन प्रणालीका समस्यासँग सम्बन्धित रहेको छ। सेमाग्लुटाइड प्रयोग गर्नेमा पनि पाचन प्रणालीसँग सम्बन्धित समस्या प्रमुख रूपमा देखिएको रिपोर्टमा उल्लेख छ।
तर नियामक निकायले औषधिको प्रयोगपछि मृत्यु वा अन्य स्वास्थ्य समस्या भएको रिपोर्ट हुँदैमा त्यसको प्रत्यक्ष कारण औषधि नै हो भनेर निष्कर्ष निकाल्न नमिल्ने स्पष्ट पारेको छ। ‘यल्लो कार्ड’ प्रणालीमा कुनै औषधिको प्रयोगपछि स्वास्थ्यमा समस्या देखिएको र त्यसको औषधिसँग सम्बन्ध हुन सक्ने आशंका भएमा मात्र त्यस्तो घटना रिपोर्ट गरिन्छ।
त्यसैले रिपोर्ट गरिएका मृत्युका सबै घटना औषधिका कारण भएका हुन् भन्ने पुष्टि भएको छैन। सम्बन्धित व्यक्तिमा पहिले नै रहेको स्वास्थ्य समस्या, अन्य औषधिको प्रयोग वा अन्य कारणले समेत यस्ता घटना भएको हुन सक्ने नियामकको भनाइ छ।
नियामक निकायका अनुसार बेलायतमा तौल घटाउने तथा मधुमेह नियन्त्रणका लागि प्रयोग हुने यी औषधिको प्रयोग पछिल्लो समय निकै बढेको छ। औषधिको प्रयोग बढेसँगै यसको सम्भावित प्रतिकूल असरबारे जानकारी गराउनेको संख्या पनि बढ्न सक्ने बताइएको छ।
औषधिको सुरक्षाबारे प्राप्त नयाँ विवरण, वैज्ञानिक अध्ययन तथा स्वास्थ्यसम्बन्धी रिपोर्टको निरन्तर समीक्षा भइरहेको नियामक निकायले जनाएको छ। कुनै औषधिको जोखिम पुष्टि भएमा त्यसबारे स्वास्थ्यकर्मी तथा सर्वसाधारणलाई जानकारी गराउँदै आवश्यक कदम चालिने पनि बताइएको छ।
हाल उपलब्ध प्रमाणका आधारमा चिकित्सकीय सल्लाहअनुसार स्वीकृत प्रयोजनमा प्रयोग गर्दा यी औषधिका फाइदा सम्भावित जोखिमभन्दा बढी रहेको नियामक निकायको निष्कर्ष छ। चिकित्सकको सल्लाहबिना तौल घटाउने उद्देश्यले यस्ता औषधि प्रयोग नगर्नु र औषधि प्रयोगपछि असामान्य स्वास्थ्य समस्या देखिए स्वास्थ्यकर्मीसँग परामर्श गर्नु आवश्यक मानिन्छ।



