

काठमाडौं – एमबीबीएस इन्टर्न चिकित्सक डिल्ली हरिजन र सरकारी वार्ता टोलीबीच शुक्रबार पाँच बुँदे सहमति भएको छ। सहमतिसँगै हरिजनले आफ्नो आमरण अनशन अन्त्य गरेका छन्।
सहमतिअनुसार सरकारी तथा निजी मेडिकल कलेजमा अध्ययनरत एमबीबीएस इन्टर्न चिकित्सकलाई स्वास्थ्य सेवाको आठौँ तहको प्रारम्भिक तलबमानको ५० प्रतिशत बराबर निर्वाह भत्ता उपलब्ध गराउने विषयलाई प्राथमिकताका साथ अघि बढाइने भएको छ। यसबारे साउन २८ गते शिक्षा तथा खेलकुद मन्त्रालय, चिकित्सा शिक्षा आयोग, विश्वविद्यालय, निजी मेडिकल कलेजका प्रतिनिधि तथा आन्दोलनरत इन्टर्न चिकित्सकबीच विस्तृत छलफल गरी आयोगको बैठकमा एजेन्डाका रूपमा प्रस्तुत गरिनेछ।
यस्तै, राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ अनुसार आयोगको बैठकमा स्टाइपेन्ड अभियन्ताको प्रतिनिधित्व सुनिश्चित गर्ने, श्रम ऐन, २०७४ बमोजिम इन्टर्न तथा आवासीय चिकित्सकको समान कार्यघण्टा लागू गर्ने र त्यसका लागि समिति गठन गरी प्रतिवेदन तयार गर्ने विषयमा पनि सहमति भएको छ।
सहमतिमा सरकारी तथा निजी मेडिकल कलेजले विभिन्न शीर्षकमा असुलेको अतिरिक्त शुल्कको छानबिन गरी नियमानुसार फिर्ता गर्ने व्यवस्था कार्यान्वयन गर्ने तथा एमबीबीएस र बिडिएस अध्ययनरत विद्यार्थीका लागि छात्रावास बसाइलाई वैकल्पिक बनाउने आयोगको परिपत्र प्रभावकारी रूपमा लागू गर्ने विषय पनि समेटिएको छ।





