

काठमाडौं – ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच नगरवासीलाई गुणस्तरीय तथा सहुलियतपूर्ण विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य सेवा सहकार्य सम्झौता भएको छ।
सम्झौतापत्रमा ह्याम्स अस्पतालका अध्यक्ष आर. एस. भण्डारी र गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक कुमार रिसालले हस्ताक्षर गरेका छन्। सम्झौता कार्यक्रममा दुवै संस्थाका पदाधिकारी, स्वास्थ्यकर्मी तथा सम्बन्धित अधिकारीहरूको उपस्थिति थियो।
सम्झौताअनुसार गोकर्णेश्वर नगरपालिकाको सिफारिसमा ह्याम्स अस्पतालमा उपचार, शल्यक्रिया तथा अन्य स्वास्थ्य सेवा लिन जाने नगरपालिकाका स्थायी बासिन्दाले अस्पतालले उपलब्ध गराउने विभिन्न विशेषज्ञ स्वास्थ्य सेवामा विशेष छुट तथा सहुलियत पाउनेछन्।
यस सहकार्यबाट आर्थिक रूपमा उपचार गर्न कठिनाइ भोगिरहेका नगरवासीलाई राहत पुग्नुका साथै विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय उपचार सेवा लिन सहज हुने अपेक्षा गरिएको छ।
सम्झौताको उद्देश्य नगरपालिकास्तरमा स्वास्थ्य सेवा सुदृढीकरण गर्नुका साथै नियमित स्वास्थ्य परीक्षण, जनस्वास्थ्य प्रवद्र्धन र स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्नु रहेको जनाइएको छ। दीर्घरोगको समयमै पहिचान तथा प्रारम्भिक उपचारमार्फत जटिल स्वास्थ्य समस्याको जोखिम न्यूनीकरण गर्न पनि सहकार्यले सहयोग पुग्ने विश्वास गरिएको छ।
ह्याम्स अस्पतालका अध्यक्ष आर. एस. भण्डारीले स्थानीय सरकारसँगको सहकार्यले नागरिकसम्म गुणस्तरीय विशेषज्ञ स्वास्थ्य सेवा प्रभावकारी रूपमा पुर्याउन सहयोग पुग्ने बताए। उनले नागरिकलाई गुणस्तरीय, सुरक्षित, सहज र किफायती स्वास्थ्य सेवा उपलब्ध गराउने अस्पतालको उद्देश्य रहेको उल्लेख गरे।
त्यस्तै, गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक कुमार रिसालले नागरिकको स्वास्थ्य स्थानीय सरकारको प्रमुख प्राथमिकतामध्ये एक रहेको बताए। ह्याम्ससँगको सहकार्यले नगरवासीलाई सहुलियत दरमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।
ह्याम्स अस्पतालले मुटु तथा रक्तनली रोग, न्युरो साइन्स, क्यान्सर, अर्थोपेडिक्स, युरोलोजी, नेफ्रोलोजी, ग्यास्ट्रोइन्टेरोलोजी तथा क्रिटिकल केयरलगायत विभिन्न विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ।
यस सहकार्यलाई आगामी दिनमा थप विस्तार गर्दै नागरिकमैत्री, गुणस्तरीय, सुरक्षित तथा पहुँचयोग्य स्वास्थ्य सेवा उपलब्ध गराउने दुवै पक्षले प्रतिबद्धता जनाएका छन्।



