

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले आमरण अनसनमा रहेका इन्टर्न चिकित्सक डा. डिल्ली हरिजनका माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेकी छन्।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले डा. हरिजनको स्वास्थ्य अवस्था गम्भीर रहेको उल्लेख गर्दै उनको जीवनरक्षाका लागि सरकारको तत्काल ध्यानाकर्षण गराइन्। उनले डा. हरिजन हाल वीर अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा उपचाररत रहेको जानकारी दिइन्।
प्रमुख सचेतक ओलीले एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकलाई स्वास्थ्य सेवाको आठौँ तहको प्रारम्भिक तलबमानको ५० प्रतिशत बराबरको निर्वाह भत्ता सबै सरकारी तथा निजी शिक्षण संस्थाले अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने माग दोहोर्याइन्। साथै, श्रम ऐनअनुसार कार्यघण्टासम्बन्धी व्यवस्था पूर्ण रूपमा कार्यान्वयन गर्न पनि सरकारसँग आग्रह गरिन्।
संसदमा बोल्दै उनले इन्टर्न चिकित्सकहरूको आन्दोलन उचित मागमा आधारित रहेको बताउँदै चिकित्सकहरूको मासिक निर्वाह भत्तासम्बन्धी प्रतिवेदन कार्यान्वयन र श्रम ऐनअनुसारको कार्यघण्टा लागू गर्नुपर्नेमा जोड दिइन्। उनले स्वास्थ्य मन्त्रालय, प्रधानमन्त्री तथा सदनमा उपस्थित चिकित्सक सांसदहरूको समेत यस विषयमा गम्भीर ध्यान जान आवश्यक रहेको उल्लेख गर्दै डा. हरिजनको स्वास्थ्य अवस्था संवेदनशील भएकाले शीघ्र समाधान खोज्न आग्रह गरिन्।



