

काठमाडौं – नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले २०८३ साउन ७ र ८ गते सञ्चालन गरेको विशेष परीक्षाको देशअनुसारको नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक नतिजाअनुसार नेपालका मेडिकल कलेजबाट परीक्षा दिएका विद्यार्थीले सबैभन्दा उत्कृष्ट प्रदर्शन गरेका छन्।
नेपालबाट परीक्षामा सहभागी ९१९ जनामध्ये ९०४ जना उत्तीर्ण भएका छन् भने १५ जना अनुत्तीर्ण भएका छन्। यससँगै नेपालको उत्तीर्ण प्रतिशत ९८.३७ रहेको छ।
विदेशी शैक्षिक संस्थामध्ये भारतका विद्यार्थीको नतिजा दोस्रो उत्कृष्ट देखिएको छ। भारतबाट सहभागी १७ जनामध्ये १३ जना उत्तीर्ण र ४ जना अनुत्तीर्ण भएका छन्। भारतको उत्तीर्ण प्रतिशत ७६.४७ रहेको छ।
त्यसैगरी पाकिस्तान र संयुक्त राज्य अमेरिकाबाट सहभागी सबै परीक्षार्थी उत्तीर्ण भएका छन्। पाकिस्तानबाट ९ जना र अमेरिकाबाट १ जना सहभागी भएका थिए, जसको उत्तीर्ण प्रतिशत शतप्रतिशत रहेको छ।
चीनबाट ३७ जनाले परीक्षा दिएकामा ८ जना मात्र उत्तीर्ण भएका छन् भने २८ जना अनुत्तीर्ण भएका छन्। चीनको उत्तीर्ण प्रतिशत २१.६२ रहेको छ। इजिप्टको उत्तीर्ण प्रतिशत ४२.११, किर्गिस्तान र फिलिपिन्सको ४०–४० प्रतिशत तथा बेलारुसबाट सहभागी एक जना परीक्षार्थी अनुत्तीर्ण भएका छन्।
कुल १,०१३ जना परीक्षार्थीमध्ये ९४७ जना उत्तीर्ण र ६५ जना अनुत्तीर्ण भएका छन्। समग्र उत्तीर्ण प्रतिशत ९३.४८ रहेको नेपाल मेडिकल काउन्सिलले जनाएको छ।




