

काठमाडौं – एक दशकसम्म बन्दजस्तै अवस्थामा पुगेको नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा फर्किएको छ। आर्थिक वर्ष २०८२/८३ मा संस्थाले करिब ३ करोड रुपैयाँ नाफा कमाएको छ भने चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य लिएको छ।
लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरूका अनुसार विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस (जीएमपी)’ मापदण्ड प्राप्त गरेपछि उत्पादन र बिक्री दुवै बढेका कारण संस्था घाटाबाट नाफामा फर्किएको हो।
उनका अनुसार आफू २०८० सालमा जिम्मेवारी सम्हाल्दा संस्थाको अवस्था निकै कमजोर थियो। कर्मचारीले महिनौँसम्म तलब नपाएको, सञ्चय कोषलगायतका दायित्व बाँकी रहेको अवस्थामा रहेको संस्थाले अहिले वित्तीय सुधारसँगै उत्पादन विस्तार गरिरहेको छ।
पनेरूले काठमाडौं महानगरपालिकासँग औषधि आपूर्तिका लागि भएको सम्झौतापछि प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र, संघीय अस्पताल तथा अन्य सरकारी निकायसँग पनि सहकार्य विस्तार गर्न सहज भएको बताए।
हाल नेपाल औषधि लिमिटेडले ११ प्रकारका औषधि उत्पादन गरिरहेको छ। चालु आर्थिक वर्षमा सरकारले उपलब्ध गराएको २४ करोड रुपैयाँ बजेट बाट आवश्यक उपकरण र जनशक्ति थप गर्न सके २२ प्रकारका औषधि उत्पादन गर्न सकिने संस्थाको भनाइ छ।
यस्तै आगामी दुई महिनाभित्र मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल, आइरन–फोलिक एसिड, जुकाको औषधि तथा एजिथ्रोमाइसिन लगायत सरकारले निःशुल्क वितरण गर्ने अत्यावश्यक औषधि उत्पादन सुरु गर्ने तयारी भइरहेको महाप्रबन्धक पनेरूले जानकारी दिए।
संस्थाले हाल जीवनजल (ओआरएस), मेट्रोनिडाजोल, सेटिरिजिन, फोलिक एसिड, हेमोडायलाइसिसका लागि आवश्यक घोल, स्यानिटाइजर, डिस्टिल्ड वाटरलगायत औषधि उत्पादन गरिरहेको छ। साथै थप ११ प्रकारका औषधि उत्पादनका लागि अध्ययन पूरा भइसकेको र स्रोत सुनिश्चित भए यसै वर्षदेखि उत्पादन सुरु गरिने जनाएको छ।
त्यसबाहेक थप १५ प्रकारका औषधि उत्पादनको तयारी भइरहेको छ। यससँगै निकट भविष्यमै ३७ प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य संस्थाले लिएको छ।
सरकारले पनि नेपाल औषधि लिमिटेडलाई प्राथमिकतामा राखेको छ। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारको १०० बुँदे शासकीय सुधार कार्यक्रम अन्तर्गत तीन वर्षभित्र सरकारले निःशुल्क उपलब्ध गराउने ९८ प्रकारका औषधि नेपाल औषधि लिमिटेडबाटै उत्पादन गर्ने लक्ष्य राखिएको छ।
महाप्रबन्धक पनेरूका अनुसार संस्थाको दीर्घकालीन उद्देश्य अत्यावश्यक औषधिको आयात प्रतिस्थापन गर्नुका साथै विपद्, महामारी र आपत्कालीन अवस्थाका लागि मुलुकको रणनीतिक औषधि भण्डारका रूपमा विकास गर्नु हो।
१० वर्षसम्म बन्दजस्तै अवस्था
नेपाल औषधि लिमिटेडले कुनै समय ११४ प्रकारका औषधि उत्पादन गर्थ्यो। तर २०६४ सालपछि उद्योग बन्दजस्तै अवस्थामा पुगेको थियो। कर्मचारीहरूले वर्षौँसम्म नियमित काम र तलब नपाउने अवस्था भोग्नुपरेको थियो।
संस्थाका सुपरभाइजर पदमनारायण थपलियाका अनुसार २०७३ सालमा तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीले ५ करोड रुपैयाँ बजेट उपलब्ध गराएपछि उद्योग पुनः सञ्चालनतर्फ फर्किएको थियो। त्यसपछि थप लगानीमार्फत उत्पादन उपकरण र पूर्वाधार विस्तार गरिएको थियो।
उनले तत्कालीन बोर्ड सदस्य डा. भगवान कोइराला र डा. सन्दुक रुइतको योगदान पनि उद्योग पुनर्जीवनमा महत्वपूर्ण रहेको उल्लेख गर्दै सीमित जनशक्तिका बाबजुद अहिले संस्था पुनः विस्तारको चरणमा पुगेको बताए।



