

काठमाडौं – कान्तिपुर भेट डिस्ट्रिब्युटर्स प्रालिले आफूले आधिकारिक रूपमा आयात तथा बिक्री–वितरण गर्दै आएका दुई पशु औषधिको नक्कली प्याकिङ गरी बजारमा अनधिकृत रूपमा बिक्री भइरहेको जानकारी प्राप्त भएको भन्दै सबै विक्रेता तथा सरोकारवालालाई सतर्क रहन आग्रह गरेको छ।
कम्पनीले सार्वजनिक सूचना जारी गर्दै बायोभेट जोइन्ट स्टक कम्पनी, बुल्गेरियाद्वारा उत्पादित ‘भेटमुलिन ८० प्रतिशत’ (औषधि व्यवस्था विभाग दर्ता नं. ३७८०४१९१००८३१) तथा भेङ्कटेश्वरा ह्याचरिज प्रालिद्वारा उत्पादित ‘भेन्कासिन २५ प्रतिशत’ नामक पशु औषधिको नक्कली प्याकिङ गरी बजारमा अनधिकृत बिक्री–वितरण भइरहेको जानकारी प्राप्त भएको जनाएको हो।
सूचनाअनुसार यी दुवै औषधि कान्तिपुर भेट डिस्ट्रिब्युटर्स प्रालि मार्फत नेपालमा आधिकारिक रूपमा आयात तथा बिक्री–वितरण हुँदै आएका छन्। त्यसैले औषधि खरिद गर्दा कम्पनीसँग मिलान तथा प्रमाणीकरण गरेर मात्रै खरिद तथा बिक्री–वितरण गर्न कम्पनीले अनुरोध गरेको छ।
कम्पनीले नक्कली औषधि खरिद वा बिक्री–वितरण गर्दा त्यसबाट उत्पन्न हुने कुनै पनि समस्या, क्षति वा कानुनी जिम्मेवारी सम्बन्धित खरिदकर्ता वा विक्रेताले स्वयं व्यहोर्नुपर्ने स्पष्ट पारेको छ।
यस्तै, सबै विक्रेता तथा सम्बन्धित पक्षलाई आवश्यक सावधानी अपनाउन आग्रह गर्दै यस्ता अनधिकृत गतिविधिमा संलग्न व्यक्ति वा संस्थाको पहिचान गरी सम्बन्धित निकायमा जानकारी गराई यथाशीघ्र कानुनी कारबाही अघि बढाइने चेतावनी पनि कम्पनीले दिएको छ।
कान्तिपुर भेट डिस्ट्रिब्युटर्स प्रालिले पशु औषधिको गुणस्तर र प्रामाणिकता सुनिश्चित गर्न आधिकारिक आपूर्ति प्रणालीबाट मात्रै औषधि खरिद गर्न सबै सरोकारवालासँग आग्रह गरेको छ।



