

काठमाडौं- नेपाल नर्सिङ काउन्सिलले नयाँ नेतृत्व पाएको छ। सरकारले काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापतिलाई नियुक्त गरेको छ। त्यसैगरी उपाध्यक्षमा बिमला कुमारी साह र रजिस्ट्रारमा पार्वती विष्ट नियुक्त भएका छन्।
नवनियुक्त अध्यक्ष, उपाध्यक्ष र रजिस्ट्रारले बिहीबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। शपथ ग्रहणपछि उनीहरूले सोही दिन काउन्सिलमा पुगेर आ–आफ्नो जिम्मेवारी सम्हालेका छन्।
अध्यक्ष नियुक्त भएकी सकुन्तला प्रजापति हाल स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकका रूपमा कार्यरत छन्। उनले यसअघि नेपाल नर्सिङ परिषद्को निमित्त निर्देशकको जिम्मेवारी पनि सम्हालिसकेकी छन्।



