

काठमाडौं- प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्कीले देशभर निर्माण गर्ने लक्ष्य राखिएका आधारभूत अस्पतालहरूको प्रगति सन्तोषजनक नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।
बिहीबार बसेको प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको वर्तमान अवस्था, चुनौती र आगामी कार्ययोजनामाथि छलफलका क्रममा उनले हालसम्म लक्ष्यअनुसार केवल १७ प्रतिशत आधारभूत अस्पताल मात्रै निर्माण सम्पन्न भएको उल्लेख गरिन्।
उनले निर्माण सम्पन्न भएको तथ्यांक प्रस्तुत गरिए पनि ती अस्पतालमध्ये कति सरकारले तोकेको मापदण्डअनुसार पूर्ण रूपमा सञ्चालनमा छन् भन्ने विवरण सार्वजनिक नभएको बताइन्।
‘५ शय्या र १५ शय्याका आधारभूत अस्पताल निर्माण गर्ने सरकारी घोषणा भएको धेरै वर्ष बितिसकेको छ। तर निर्माण सम्पन्न भएका अस्पतालको संख्या अझै १७ प्रतिशतमा सीमित छ,’ उनले भनिन्, ‘निर्माण सकिएका अस्पताल पनि आवश्यक पूर्वाधार, जनशक्ति र सेवासहित सञ्चालनमा छन् कि छैनन् भन्ने विषयको समेत अनुगमन हुनुपर्छ।’
सांसद कार्कीले अस्पताल निर्माणलाई मात्र उपलब्धि मान्न नहुने बताउँदै गुणस्तरीय स्वास्थ्य सेवा सञ्चालन भएको सुनिश्चित गर्न नियमित अनुगमन आवश्यक रहेको धारणा राखिन्।
उनले स्वास्थ्य क्षेत्रमा पर्याप्त लगानी गर्न सरकार कहिल्यै पछि हट्न नहुने उल्लेख गर्दै स्वस्थ नागरिक नै समृद्ध राष्ट्र निर्माणको आधार भएको बताइन्। भौतिक र मानसिक रूपमा स्वस्थ जनशक्तिले मात्र देशको विकासमा प्रभावकारी योगदान दिन सक्ने उनको भनाइ थियो।



