

काठमाडौं- एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालले एमबीबीएस/बीडीएस अध्ययनरत विद्यार्थीलाई इन्टर्नशिप भत्ताको विषयलाई लिएर अध्ययन–अध्यापन तथा स्वास्थ्य सेवा प्रभावित नपार्न आग्रह गरेको छ।
संस्थाले सार्वजनिक गरेको ‘जनहितमा जारी’ सूचनामा इन्टर्नशिप एमबीबीएस/बीडीएस अध्ययनको अनिवार्य तथा अभिन्न अंग भएको उल्लेख गर्दै ४.५ वर्षको सैद्धान्तिक अध्ययनपछि एक वर्षको इन्टर्नशिप पूरा गरेपछि मात्र चिकित्सकीय दक्षता हासिल हुने जनाएको छ।
सूचनाअनुसार कलेजहरूले इन्टर्नशिप शीर्षकमा छुट्टै शुल्क नलिने व्यवस्था मेडिकल एजुकेसन कमिसन (एमईसी) गठनपछि लागू भएको र हालसम्म इन्टर्न चिकित्सकलाई प्रोत्साहनस्वरूप भत्ता उपलब्ध गराउँदै आएको दाबी गरिएको छ। तर कुनै कानुन, विश्वविद्यालयको पाठ्यक्रम वा नियामक व्यवस्थाले निश्चित रकम भुक्तानी गर्नुपर्ने व्यवस्था नगरेको एसोसिएसनको भनाइ छ।
एसोसिएसनले इन्टर्नशिप विश्वविद्यालयको अनिवार्य शैक्षिक प्रक्रिया भएकाले यसलाई श्रम वा पारिश्रमिकसँग जोड्न नमिल्ने तर्क गर्दै हाल माग गरिएअनुसारको भत्ता उपलब्ध गराउन आवश्यक आर्थिक स्रोत सुनिश्चित नभएसम्म कार्यान्वयन सम्भव नभएको जनाएको छ। साथै भविष्यका नयाँ ब्याचका हकमा नियामक निकायसँग छलफल गर्न आफूहरू तयार रहेको पनि उल्लेख गरिएको छ।
सूचनामा इन्टर्न चिकित्सकहरू कलेजका कर्मचारी नभई विश्वविद्यालयका विद्यार्थी रहेको उल्लेख गर्दै उनीहरूको हैसियत पीजी रेसिडेन्ट चिकित्सकसँग तुलना गर्न नमिल्ने दाबी गरिएको छ। श्रम शोषणको आरोपको खण्डन गर्दै आवश्यक नीतिगत निर्णय सरकार र सम्बन्धित निकायबाट हुनुपर्ने एसोसिएसनले जनाएको छ।
एसोसिएसनले आन्दोलन, अनशन वा टकरावभन्दा अध्ययन र इन्टर्नशिपलाई प्राथमिकता दिन विद्यार्थीलाई आग्रह गर्दै राज्यले आवश्यक स्रोत सुनिश्चित नगरेसम्म हालको व्यवस्थाभन्दा फरक निर्णय गर्न नसकिने स्पष्ट पारेको छ।







