

काठमाडौं- वर्षायामसँगै नेपालमा डेंगु संक्रमण तीव्र रूपमा फैलिन थालेको छ। हालसम्म देशका ७२ जिल्लामा २ हजार २५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ।
महाशाखाका अनुसार गत पुसयता संकलन गरिएको तथ्यांकले संक्रमण निरन्तर बढिरहेको देखाएको छ। वर्षाको मौसम सक्रिय भएसँगै एडिस जातको लामखुट्टेको प्रजनन बढ्ने भएकाले आगामी महिनामा संक्रमण अझ फैलिन सक्ने जोखिम रहेको स्वास्थ्य विज्ञहरूले बताएका छन्।
ईडीसीडीअन्तर्गत कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार हालसम्म सबैभन्दा बढी संक्रमित कोशी र गण्डकी प्रदेशमा भेटिएका छन्। तथ्यांकअनुसार कोशीमा ५६८, गण्डकीमा ५३२, बागमतीमा ३६५, लुम्बिनीमा ३४३, सुदूरपश्चिममा १०३, मधेसमा ७२ र कर्णालीमा ४२ जनामा संक्रमण पुष्टि भएको छ।
नेपालमा पहिलो पटक सन् २००४ मा चितवनमा डेंगु संक्रमण पुष्टि भएको थियो। सुरुमा तराईमा सीमित रहेको संक्रमण अहिले जलवायु परिवर्तन, अनियन्त्रित सहरीकरण र वातावरणीय परिवर्तनका कारण पहाडी तथा उच्च हिमाली जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ।
विगतका वर्षहरूमा पनि डेंगुले नेपालमा गम्भीर जनस्वास्थ्य संकट निम्त्याएको थियो। सन् २०१९ मा करिब १७ हजार ९९२ जनामा संक्रमण पुष्टि हुँदा ६ जनाको मृत्यु भएको थियो। त्यसपछि सन् २०२२ मा नेपालको इतिहासकै सबैभन्दा ठूलो डेंगु महामारी फैलिएको थियो, जहाँ ५४ हजार ७९७ जना संक्रमित भएका थिए भने ८८ जनाले ज्यान गुमाएका थिए। सन् २०२३ मा पनि ५१ हजारभन्दा बढी संक्रमित र कम्तीमा २० जनाको मृत्यु भएको थियो।
डेंगु नियन्त्रणका लागि महाशाखाले साउनदेखि तीन महिने सचेतना अभियान सञ्चालन गरेको छ। ‘खोज र नष्ट गर’ अभियानमार्फत समुदायस्तरमा लामखुट्टेको बासस्थान पहिचान गरी नष्ट गर्ने, जनचेतना बढाउने तथा संक्रमण रोकथामका उपाय प्रभावकारी रूपमा लागू गर्ने लक्ष्य राखिएको डा. दाहालले बताए।
स्वास्थ्य विज्ञहरूले घर तथा वरपर पानी जम्न नदिन, गमला, पुराना टायर, एसी र फ्रिजको पछाडि पानी नराख्न, पूरा बाहुलाको कपडा लगाउन, झुल तथा लामखुट्टे भगाउने सामग्री प्रयोग गर्न सुझाव दिएका छन्। उच्च ज्वरो, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, शरीरमा बिमिरा देखिने वा अत्यधिक थकानजस्ता लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा पुगेर परीक्षण गराउन पनि आग्रह गरिएको छ।
स्वास्थ्य अधिकारीहरूले डेंगु नियन्त्रण सरकारको प्रयासले मात्र सम्भव नहुने भन्दै स्थानीय तह, समुदाय र प्रत्येक नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन्।



