

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केबरमा ट्रमा सेन्टर निर्माण गर्ने सरकारको योजना यथावत् रहेको स्पष्ट पारेकी छन्। लहानमा ट्रमा सेन्टर निर्माणको विषय संसदमा उठाएपछि ढल्केबरको योजना रोकिएको हो कि भन्ने भ्रम फैलिएकाले उनले सामाजिक सञ्जालमार्फत स्पष्टिकरण दिएकी हुन्।
मन्त्री मेहताले ढल्केबरमा ट्रमा सेन्टर निर्माण गर्ने योजना कुनै पनि रूपमा रोकिएको वा परिवर्तन नगरिएको बताएकी छन्। उनका अनुसार पूर्व–पश्चिम राजमार्ग र मधेश प्रदेशलाई जोड्ने प्रमुख सडक सञ्जालको केन्द्रमा रहेको ढल्केबरको भौगोलिक महत्वका कारण त्यहाँ ट्रमा सेन्टरको आवश्यकता अझै पनि उत्तिकै रहेको छ।
उनले मन्त्रालय ढल्केबरको ट्रमा सेन्टर निर्माणलाई अघि बढाउन प्रतिबद्ध रहेको उल्लेख गर्दै संसदमा लहानको सन्दर्भ उठाउनुको उद्देश्य कुनै एक स्थानलाई प्राथमिकता दिएर अर्को स्थानलाई पछि पार्ने नभएको स्पष्ट पारेकी छन्।
मन्त्री मेहताका अनुसार दुर्घटनाको अवस्था, जनघनत्व, स्वास्थ्य सेवामा पहुँच र भौगोलिक आवश्यकतालाई आधार बनाएर मधेश प्रदेशका विभिन्न क्षेत्रमा चरणबद्ध रूपमा ट्रमा सेन्टर स्थापना गर्ने सरकारको दीर्घकालीन योजना रहेको छ।
आकस्मिक स्वास्थ्य सेवा प्रभावकारी बनाउने, सबै नागरिकको पहुँचमा गुणस्तरीय उपचार पुर्याउने तथा दुर्घटनाबाट हुने मानवीय क्षति न्यूनीकरण गर्ने उद्देश्यका साथ आवश्यक अध्ययन, योजना र स्रोत व्यवस्थापनको काम भइरहेको उनले बताएकी छन्।
मन्त्री मेहताले ट्रमा सेन्टरसम्बन्धी विषयमा भ्रममा नपरी आधिकारिक जानकारीलाई मात्र विश्वास गर्न सर्वसाधारणसँग आग्रहसमेत गरेकी छन्।



