

धनगढी – सुदूरपश्चिम प्रदेशको रेफरल अस्पतालका रूपमा रहेको सेती प्रादेशिक अस्पतालले कार्यालय समयमा निजी अस्पताल तथा क्लिनिकमा सेवा दिने चिकित्सकमाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ। सरकारी ड्युटीका बेला अस्पतालमा चिकित्सक उपस्थित नहुने र बिरामीलाई निजी स्वास्थ्य संस्थातर्फ पठाउने गुनासो बढेपछि अस्पताल प्रशासनले यस्तो कदम चालेको हो।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले मंगलबार सूचना जारी गर्दै कार्यालय समयभित्र अस्पतालमा अनुपस्थित भई निजी स्वास्थ्य संस्थामा सेवा दिएको पाइए प्रचलित कानुन तथा सेवा–शर्तअनुसार कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट पारे।
उनका अनुसार पछिल्लो समय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ‘हेलो सरकार’, मुख्यमन्त्री कार्यालय तथा अस्पतालको क्युआर गुनासो प्रणालीमार्फत चिकित्सकहरूको अनुपस्थितिबारे बारम्बार उजुरी आइरहेका छन्। ती गुनासोका आधारमा यसअघि पनि केही चिकित्सकसँग लिखित स्पष्टीकरण मागिएको र सम्बन्धित निकायमा जवाफ पठाइएको उनले बताए।
स्थानीयवासीका अनुसार सरकारी अस्पतालमा उपचारका लागि पुगेका बिरामीले चिकित्सक नपाउँदा सास्ती खेप्नुपरेको छ। कतिपय बिरामीलाई सरकारी अस्पतालमा शल्यक्रियाका लागि लामो समय कुर्नुपर्ने भन्दै निजी अस्पताल वा क्लिनिकमा जान सुझाव दिइने गरेको गुनासो पनि बढेको छ।
बुबाको पत्थरीको उपचारका लागि सेती अस्पताल पुगेका हरि साउँदले अस्पतालमा शल्यक्रियाको पालो धेरै ढिलो आउने भन्दै बाहिर निजी अस्पतालमा उपचार गराउन सुझाव दिइएको बताए। आर्थिक अवस्था कमजोर भएका बिरामीका लागि यस्तो अवस्था झन् कठिन हुने स्थानीय शेरबहादुर चौधरीको भनाइ छ।
डा. पाण्डेका अनुसार सेती अस्पतालका अधिकांश विभागका चिकित्सक तथा केही कर्मचारीबारे पनि विभिन्न प्रकारका गुनासा आउने गरेका छन्। पटक–पटक एउटै चिकित्सकबारे उजुरी परेपछि अस्पताल प्रशासनले थप कडाइ गर्ने निर्णय गरेको हो।
अस्पतालले सरकारी सेवाको गुणस्तर सुधार गर्न सबै चिकित्सकले बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म तोकिएको कार्यस्थलमै उपस्थित भएर सेवा दिनुपर्ने व्यवस्था कडाइका साथ लागू गरिने जनाएको छ।
यस्तै, नेपाल सरकारको छात्रवृत्ति कोटाबाट अध्ययन पूरा गरी अनिवार्य सरकारी सेवा गरिरहेका चिकित्सकले निजी स्वास्थ्य संस्थामा काम गर्न नपाउने व्यवस्था रहे पनि केही चिकित्सकले उक्त नियम उल्लंघन गरेको गुनासो समेत आएको अस्पताल प्रशासनले जनाएको छ।
डा. पाण्डेले सरकारी सेवाप्रतिको जवाफदेहिता बढाउन, बिरामीले सहज रूपमा उपचार पाउने वातावरण बनाउन तथा अस्पतालप्रतिको जनविश्वास कायम राख्न कार्यालय समयमा चिकित्सकको अनिवार्य उपस्थितिलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने बताए।



