

काठमाडौं – नेपाल चिकित्सक संघले आमरण अनशनमा रहेका इन्टर्न चिकित्सक डा. डिल्ली हरिजनका मागहरू तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ। संघका अध्यक्ष डा. बद्री रिजालले अनशनस्थल पुगेर डा. हरिजनसँग भेट गर्दै उनका मागहरू न्यायोचित रहेको बताएका हुन्।
अध्यक्ष रिजालले शिक्षा मन्त्रालयसँग यसअघि भएका सहमतिहरू कार्यान्वयन नभएकै कारण फेरि आमरण अनशनको अवस्था सिर्जना हुनु दुःखद भएको बताए। उनका अनुसार इन्टर्न चिकित्सकलाई रेसिडेन्ट चिकित्सकले पाउने निर्वाह भत्ताको ५० प्रतिशत उपलब्ध गराउने सहमति भए पनि विभिन्न शिक्षण संस्थामा अहिले पनि १० हजारदेखि २४ हजार रुपैयाँसम्म फरक–फरक भत्ता दिने व्यवस्था कायम छ।
उनले सबै इन्टर्न चिकित्सकलाई समान रूपमा सेवा–सुविधा उपलब्ध गराइनुपर्नेमा जोड दिँदै विगतका सहमतिहरू तत्काल कार्यान्वयन गर्न शिक्षा मन्त्रालयलाई आग्रह गरे।
डा. रिजालले लामो समयदेखि मन्त्रालय र सम्बन्धित निकायसँग छलफल, समन्वय र सहमति गराउने प्रयास भए पनि कार्यान्वयन नहुँदा डा. हरिजन पुनः आमरण अनशन बस्न बाध्य भएको बताए। एउटै विषयमा पटक–पटक चिकित्सकले आमरण अनशन गर्नुपर्ने अवस्था आउनु राज्यका लागि गम्भीर चिन्ताको विषय भएको उनको भनाइ छ।
नेपाल चिकित्सक संघ डा. हरिजनका मागप्रति पूर्ण रूपमा ऐक्यबद्ध रहेको उल्लेख गर्दै उनले चिकित्सकहरूलाई बारम्बार आन्दोलनमा उत्रिनुपर्ने परिस्थिति अन्त्य गर्न सरकार गम्भीर बन्नुपर्ने बताए।
‘चिकित्सकहरू सडकमा आउँदा त्यसको प्रत्यक्ष असर बिरामीमा पर्छ। हामी बिरामीले दुःख पाएको हेर्न चाहँदैनौँ,’ उनले भने, ‘डा. हरिजनको स्वास्थ्य अवस्था थप जटिल हुनुअघि नै सरकारले उहाँका जायज मागहरू सम्बोधन गर्नुपर्छ।’



