

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज रायलाई निर्देशक पदबाट हटाएको छ। सरकारी अस्पतालको नेतृत्वमा रहँदै निजी अस्पतालमा नियमित रूपमा काम गरेको विषयमा प्रकाशित समाचार र त्यसपछिको छानबिनका आधारमा मन्त्रीस्तरीय निर्णयमार्फत उनलाई जिम्मेवारीबाट हटाइएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले डा. रायको स्थानमा कान्ति बाल अस्पतालकै ११औँ तहका बालरोग विशेषज्ञ डा. रामहरी चापागाईंलाई नयाँ निर्देशक नियुक्त गरेको छ। निर्देशक पदबाट हटाइए पनि डा. रायको दरबन्दी भने कान्ति बाल अस्पतालमै रहेकाले उनी चिकित्सकका रूपमा सोही अस्पतालमा कार्यरत रहनेछन्।
यसअघि डा. रायले सरकारी कार्यालय समयमै निजी अस्पताल (ह्याम्स) मा काम गरिरहेको विषय प्रमाणसहित सार्वजनिक भएपछि स्वास्थ्यमन्त्रीले उनीसँग लिखित स्पष्टीकरण मागेकी थिइन्। मन्त्रालयको २०७७ साल साउन ९ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाका प्रमुख र कार्यकारी प्रमुखले निजी प्राक्टिस गर्न नपाउने व्यवस्था रहेको छ।



