

काठमाडौं – मनसुन सक्रिय भएसँगै नेपालमा डेंगु संक्रमणको जोखिम फेरि बढ्न थालेको छ। स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार २०८२ पुसदेखि २०८३ साउन १५ गतेसम्म देशका ७२ जिल्लामा २ हजार २५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ भने संक्रमणका कारण २ जनाको मृत्यु भएको छ।
महाशाखाले सार्वजनिक गरेको पछिल्लो पाक्षिक प्रतिवेदनअनुसार कोशी र गण्डकी प्रदेश सबैभन्दा बढी प्रभावित देखिएका छन्। कोशी प्रदेशमा ५६८ जना (२८ प्रतिशत) र गण्डकी प्रदेशमा ५३२ जना (२६.३ प्रतिशत) संक्रमित भेटिएका छन्।
जिल्लागत रूपमा झापा सबैभन्दा बढी प्रभावित बनेको छ, जहाँ २०४ जनामा संक्रमण पुष्टि भएको छ। त्यसपछि बागलुङमा १८०, सुनसरीमा १६१, पाल्पामा ११६ र कास्कीमा ११० जना संक्रमित भएका छन्।
मनसुनका कारण लामखुट्टेको प्रजनन तीव्र हुने भएकाले आगामी महिनाहरूमा संक्रमण थप बढ्न सक्ने आकलन गर्दै सरकारले ‘श्रावण, भाद्र, आश्विन : डेंगु सचेतना तीन महिने अभियान’ सञ्चालनमा ल्याएको छ। अभियानअन्तर्गत डेंगु सार्ने ‘एडिस एजिप्टी’ लामखुट्टेको प्रजनन स्थल खोजी गरी नष्ट गर्ने, स्थानीय तहसँग समन्वय गरेर सरसफाइ अभियान सञ्चालन गर्ने तथा समुदायस्तरमा जनचेतना फैलाउने लक्ष्य राखिएको महाशाखाले जनाएको छ।
महाशाखाले धेरै संक्रमण देखिएका जिल्ला र स्थानीय तहको अवस्था नियमित रूपमा विश्लेषण गर्दै रोकथाम तथा नियन्त्रणका लागि आवश्यक प्राविधिक सुझाव र निर्देशनसमेत पठाइरहेको जनाएको छ।
स्वास्थ्य अधिकारीहरूले घर, कार्यालय तथा सार्वजनिक स्थान वरिपरि पानी जम्न नदिने, पुराना टायर, ड्रम, गमला, बोतल तथा अन्य खुला भाँडाहरू नियमित सफा गर्ने र लामखुट्टेको प्रजननस्थल नष्ट गर्न आग्रह गरेका छन्।
त्यस्तै, पूरा बाहुला भएका कपडा लगाउने, झुल प्रयोग गर्ने, झ्याल–ढोकामा जाली राख्ने र लामखुट्टेको टोकाइबाट बच्ने मलम प्रयोग गर्न पनि अनुरोध गरिएको छ। ज्वरो, टाउको दुख्ने, आँखाको पछाडि दुख्ने, शरीर तथा जोर्नी दुख्ने जस्ता डेंगुका लक्षण देखिएमा ढिलाइ नगरी नजिकको स्वास्थ्य संस्थामा पुगेर परीक्षण तथा उपचार गराउन महाशाखाले सबैलाई आग्रह गरेको छ।



