

बाजुरा- बाजुराको दुर्गम स्वामिकार्तिक गाउँपालिकामा स्वास्थ्य सेवा र सडक पहुँचको अभाव फेरि उजागर भएको छ। अस्पताल पुग्नुअघि नै एक गर्भवती महिलाले बाटोमै शिशुलाई जन्म दिएकी छन्। घटनास्थलमै पुगेकी स्वास्थ्यकर्मीको सक्रियताले भने आमा र नवजात शिशु दुवै सुरक्षित भएका छन्।
स्वामिकार्तिक गाउँपालिका–३ जोरूकी २४ वर्षीया अनिता महतारा प्रसूति सेवा लिन स्वास्थ्य संस्थातर्फ जाँदै गर्दा अधारी खोलानजिकै सुत्केरी भएकी हुन्। प्रसव व्यथा अचानक सुरु भएपछि उनी स्वास्थ्य संस्था पुग्न नपाउँदै बाटोमै शिशुलाई जन्म दिन बाध्य भएकी थिइन्।
घटनाको जानकारी पाएलगत्तै जुकोट स्वास्थ्य चौकीबाट खटिएकी अनमी (एमसीएचडब्ल्यू) ज्ञानु शाही घटनास्थलमा पुगेर आवश्यक प्रसूति सेवा उपलब्ध गराएकी थिइन्। उनको तत्परता, साहस र व्यावसायिक सेवाका कारण आमा र नवजात शिशुको सुरक्षित रूपमा सुत्केरी गराउन सफल भएको स्थानीयले बताएका छन्।
यो घटनाले बाजुराजस्ता दुर्गम जिल्लामा सुरक्षित मातृत्व सेवामा पहुँच अझै चुनौतीपूर्ण रहेको यथार्थ पुनः उजागर गरेको छ। सडक, यातायात र स्वास्थ्य पूर्वाधारको अभावका कारण धेरै गर्भवती महिलाले समयमै स्वास्थ्य संस्था पुग्न नसक्दा बाटोमै सुत्केरी हुनुपर्ने अवस्था कायमै रहेको स्थानीयको भनाइ छ।
स्थानीयवासीले दुर्गम क्षेत्रमा सुरक्षित मातृत्व सुनिश्चित गर्न स्वास्थ्य संस्था सुदृढीकरण, एम्बुलेन्स सेवाको विस्तार र सडक पहुँच सुधारमा सरकारले विशेष प्राथमिकता दिनुपर्ने माग गरेका छन्।



