

बाजुरा – बाजुरामा जंगली विषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ भने उनकी श्रीमती गम्भीर बिरामी परेकी छन्।
मृत्यु हुनेमा बडिमालिका नगरपालिका–७ धम्कनेका ५१ वर्षीय रामे थापा रहेका छन्। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार रामे थापा र उनकी ५० वर्षीया श्रीमती नाम्सरी थापाले जंगली च्याउ खाएपछि स्वास्थ्यमा समस्या देखिएको थियो।
दुवैलाई सोमबार राति करिब १०:२० बजे उपचारका लागि जिल्ला अस्पताल मार्तडी लगिएको थियो। अस्पतालमा चिकित्सकले परीक्षण गर्ने क्रममा राति १०:४० बजे रामे थापालाई मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार नाम्सरी थापाको अवस्था गम्भीर रहेकाले अस्पतालमै उपचार भइरहेको छ। मृतकको शव जिल्ला अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



