

काठमाडौं- नेपाल औषधि व्यवसायी संघ, काठमाडौं जिल्ला शाखाले औषधिको गुणस्तर, सुरक्षित आपूर्ति प्रणाली, सेवाग्राहीको स्वास्थ्य सुरक्षा तथा औषधि व्यवसायको विश्वसनीयता कायम राख्ने उद्देश्यले थोक तथा खुद्रा औषधि व्यवसायीहरूका लागि १० बुँदे व्यवसायिक सूचना जारी गरेको छ।
संघले शुक्रबार जारी गरेको सूचनामा औषधि खरिद, बिक्री, भण्डारण, ढुवानी तथा वितरणका सम्पूर्ण प्रक्रियामा प्रचलित कानुन, मापदण्ड र निर्देशिकाको पूर्ण पालना गर्न व्यवसायीहरूलाई आग्रह गरेको छ।
सूचनाअनुसार औषधि केवल आधिकारिक उत्पादक, आयातकर्ता वा उनीहरूले नियुक्त गरेका आधिकारिक स्टकिस्ट तथा थोक बिक्रेताबाट मात्र खरिद गर्नुपर्ने उल्लेख गरिएको छ। स्रोत पुष्टि नभएका वा अनधिकृत माध्यमबाट आएका औषधि खरिद, बिक्री वा वितरण नगर्न पनि संघले निर्देशन दिएको छ।

संघले खुद्रा व्यवसायीलाई आधिकारिक थोक बिक्रेताबाहेक अन्य कुनै पनि माध्यमबाट औषधि खरिद नगर्न तथा थोक व्यवसायीलाई बिल जारी गर्दा ब्याच नम्बर, समाप्ति मिति, अधिकतम खुद्रा मूल्य र परिमाण अनिवार्य रूपमा मिलान गर्न आग्रह गरेको छ।
त्यसैगरी, कुनै पनि फर्मको नाम वा प्यान प्रयोग गरेर अन्य व्यक्तिलाई औषधि बिक्री वा बिल जारी गर्ने कार्य तत्काल बन्द गर्न चेतावनी दिँदै यस्तो कार्य कानुनी रूपमा कसुर हुन सक्ने जनाएको छ।
सूचनामा औषधिको भण्डारण गर्दा आवश्यक तापक्रम, आर्द्रता, प्रकाश तथा शीत शृंखला मापदण्डको पूर्ण पालना गर्नुपर्ने, खरिद बिलमा डिडिए दर्ता नम्बर, प्यान, ब्याच नम्बर, उत्पादक वा आयातकर्ताको विवरणलगायत आवश्यक जानकारी परीक्षण गरी अभिलेख सुरक्षित राख्नुपर्ने उल्लेख छ।
संघले थोक औषधि व्यवसायीहरूले चिकित्सकको पुर्जा वा बिरामीको प्रत्यक्ष आवश्यकताको आधारमा खुद्रा बिक्री गर्न नहुने स्पष्ट पारेको छ।




