

कैलाली- कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले शैक्षिक सत्र २०८३/८४ देखि एमबीबीएससहित चारवटा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारीलाई तीव्र बनाएको छ। विश्वविद्यालयले आवश्यक जनशक्ति, पूर्वाधार, शिक्षण अस्पताल, प्रयोगशाला र उपकरण व्यवस्थापनलाई अन्तिम चरणमा पुर्याएको जनाएको छ।
विश्वविद्यालयले एमबीबीएस, बीएससी नर्सिङ, बीएससी मेडिकल ल्याब टेक्नोलोजी (एमएलटी) र बी अप्टोमेट्री सञ्चालनका लागि राष्ट्रिय चिकित्सा शिक्षा आयोगमा सेल्फ अप्रेजल फाराम बुझाइसकेको छ। प्रस्तावित कार्यक्रमअन्तर्गत एमबीबीएसमा ५०, बीएससी नर्सिङमा ३०, बीएससी एमएलटीमा २० र बी अप्टोमेट्रीमा २० गरी कुल १२० विद्यार्थी भर्ना गर्ने तयारी गरिएको छ।
विश्वविद्यालयका रजिस्ट्रार डा. भीमबहादुर चन्दका अनुसार चारवटै कार्यक्रम सञ्चालनका लागि ७७ जना प्राध्यापक, सह–प्राध्यापक, उपप्राध्यापक र लेक्चरर नियुक्ति प्रक्रिया अघि बढाइएको छ। १७ जना प्राध्यापक तथा सह–प्राध्यापकको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ भने बाँकी पदको नतिजा केही दिनमै प्रकाशित हुने उनले बताए।
विश्वविद्यालयले शिक्षण अस्पतालको क्षमता विस्तारलाई पनि प्राथमिकतामा राखेको छ। हाल ३०० शय्याको अस्पताल सञ्चालनका लागि स्वीकृति प्राप्त भइसकेको छ भने नेपाली सेनाको धनगढी होल्डिङ सेन्टरमा रहेका प्रयोगविहीन ५०० शय्या शिक्षण अस्पतालमा ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
शय्या हस्तान्तरण सम्पन्न भएपछि शिक्षण अस्पतालको क्षमता ८०० शय्यामा पुग्ने विश्वविद्यालयको दाबी छ। शिक्षा मन्त्रालयमार्फत रक्षा मन्त्रालयसँग आवश्यक समन्वय भइरहेको र राष्ट्रिय चिकित्सा शिक्षा आयोगको निरीक्षणअघि नै प्रक्रिया पूरा गर्ने लक्ष्य राखिएको छ।
विश्वविद्यालयका अनुसार राष्ट्रिय चिकित्सा शिक्षा आयोगले भदौको दोस्रो वा तेस्रो साताभित्र शिक्षण अस्पतालको निरीक्षण गर्ने तयारी गरेको छ। निरीक्षणअघि नै आवश्यक फ्याकल्टी नियुक्ति, अस्पताल व्यवस्थापन तथा शैक्षिक पूर्वाधारको काम सम्पन्न गरिने लक्ष्य लिइएको छ।
उपकुलपति प्रा. डा. सुनिलकुमार जोशीले शिक्षण अस्पताल सञ्चालन, जनशक्ति व्यवस्थापन, प्रयोगशाला, छात्रावास, पुस्तकालय तथा ई–पुस्तकालयलगायत सबै पूर्वाधार तयार पार्ने काम समानान्तर रूपमा अघि बढिरहेको बताए।
एमबीबीएससहितका कार्यक्रम सञ्चालनका लागि आवश्यक आधारभूत विज्ञानका उपकरण, प्रयोगशाला सामग्री तथा शैक्षिक सामग्री खरिद प्रक्रिया पनि सुरु भइसकेको छ। विश्वविद्यालयले टेन्डर प्रक्रिया अघि बढाइसकेको र कक्षा सञ्चालनअघि सबै आवश्यक सामग्री उपलब्ध गराउने जनाएको छ।
सरकारले गेटा अस्पताललाई विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्ने निर्णय गरिसकेको छ। सोहीअनुसार अस्पताललाई विश्वविद्यालय मातहत ल्याउन स्वतन्त्र विज्ञसहितको समिति गठन गरिएको छ। समितिको प्रतिवेदनपछि अस्पताल औपचारिक रूपमा विश्वविद्यालय मातहत आउनेछ।
रजिस्ट्रार चन्दका अनुसार स्वास्थ्य मन्त्रालयका स्थायी कर्मचारीलाई नयाँ पदपूर्ति नहुँदासम्म काम गर्ने व्यवस्था मिलाउने विषयमा पनि मन्त्रालयसँग समन्वय भइरहेको छ।
विश्वविद्यालयले सम्पूर्ण प्रक्रिया समयमै पूरा गर्दै शैक्षिक सत्र २०८३/८४ मै एमबीबीएससहित चारवटा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने लक्ष्य दोहोर्याएको छ।



