

काठमाडौं- क्रिटिकल केयर नर्सेस एसोसिएसन अफ नेपालले नर्सिङ पेशासँग सम्बन्धित विभिन्न माग राख्दै नर्स ज्योति रानाभाटले सञ्चालन गरिरहेको शान्तिपूर्ण आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ।
प्रेस विज्ञप्तिमार्फत एसोसिएसनले नर्सिङ पेशा नेपालको स्वास्थ्य प्रणालीको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै सुरक्षित, सम्मानजनक र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न सक्षम, पर्याप्त तथा उत्प्रेरित नर्सिङ जनशक्तिको आवश्यकता अपरिहार्य रहेको जनाएको छ।
एसोसिएसनले नर्सहरूको पेशागत सम्मान, सुरक्षित कार्य वातावरण, वैज्ञानिक जनशक्ति व्यवस्थापन, व्यावसायिक विकास तथा गुणस्तरीय नर्सिङ शिक्षासँग सम्बन्धित विषयमा समयानुकूल सुधार आवश्यक रहेको स्पष्ट पारेको छ।
विज्ञप्तिमा शान्तिपूर्ण, लोकतान्त्रिक र मर्यादित ढंगबाट उठाइएका पेशागत सरोकारप्रति सम्मान व्यक्त गर्दै सम्बन्धित निकायलाई नर्सिङ समुदायका जायज माग गम्भीरतापूर्वक सम्बोधन गर्न आग्रह गरिएको छ। साथै सबै सरोकारवालासँग रचनात्मक संवाद गरी दीर्घकालीन र व्यवहारिक समाधान खोज्नुपर्नेमा जोड दिइएको छ।
एसोसिएसनले अनशनरत नर्स ज्योति रानाभाटको स्वास्थ्य अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्दै उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। साथै स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकता दिँदै संवाद र सहकार्यमार्फत सकारात्मक निष्कर्षमा पुग्न सम्बन्धित पक्षहरूलाई आग्रह गरेको छ।




