

काठमाडौं- भक्तपुर अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमण तथा अस्पताल परिसरमा भएको तोडफोडको घटनाप्रति नेपाल चिकित्सक संघले गम्भीर आपत्ति जनाएको छ। संघले घटनामा संलग्न व्यक्तिमाथि तत्काल कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।
शनिबार जारी विज्ञप्तिमा संघले आईसीयूमा बिरामी भर्ना गर्न नमिलेको विषयलाई लिएर अस्पतालमा तोडफोड हुनुका साथै चिकित्सक र स्वास्थ्यकर्मीमाथि कैंची प्रहार गरिएको घटनालाई अराजक र निन्दनीय भन्दै घोर भर्त्सना गरेको छ।
संघले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९)’ बमोजिम दोषीलाई अविलम्ब कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेको छ।
नेपाल चिकित्सक संघले पछिल्लो समय देशभर स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि हुने आक्रमण, तोडफोड तथा हिंसात्मक घटना बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेको छ। यस्ता घटनाले स्वास्थ्य सेवा प्रवाहमा बाधा पुग्नुका साथै स्वास्थ्यकर्मीको मनोबल कमजोर बनाएको संघको भनाइ छ।
संघले हाल संशोधनको प्रक्रियामा रहेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनमा ‘शून्य सहनशीलता’ को सिद्धान्त समावेश गर्न सरकारसँग आग्रह गरेको छ। स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई धम्क्याउने वा आक्रमण गर्ने जो–कोहीमाथि कडा कानुनी कारबाही सुनिश्चित हुने व्यवस्था गर्नुपर्ने संघको माग छ।
संघका अध्यक्ष डा. बद्री रिमाल र महासचिव डा. विश्वराम दवाडीद्वारा हस्ताक्षरित विज्ञप्तिमा संशोधित कानुन प्रभावकारी रूपमा कार्यान्वयन गर्दै स्वास्थ्य संस्थालाई सुरक्षित कार्यस्थल बनाउन राज्यले कडा कदम चाल्नुपर्नेमा जोड दिइएको छ।



