

बाजुरा – दुर्गम भौगोलिक अवस्थाका कारण समयमै स्वास्थ्य संस्था पुग्न नसक्दा बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–२ उदिउनाकी २४ वर्षीया सौरी बुढाले ओडारमै छोरालाई जन्म दिएकी छन्। कठिन परिस्थितिमा पुगेकी अनमी नमुना खत्रीको सक्रियताले आमा र नवजात शिशु दुवै सुरक्षित भएका छन्।
अनमी नमुना खत्रीका अनुसार आफू घटनास्थल पुग्दासम्म शिशुको जन्म भइसकेको थियो। तर सालनाल ननिस्किएकाले उनले आवश्यक चिकित्सकीय व्यवस्थापन गर्दै सुत्केरी सेवा प्रदान गरेकी थिइन्।
उनले सालनाल सुरक्षित रूपमा निकालेर आमा र शिशुको अवस्था स्थिर बनाएको बताइन्। त्यसपछि सुत्केरी आमालाई स्ट्रेचरमार्फत घर पुर्याइएको र घरमै आवश्यक उपचार तथा सलाइनसमेत चढाइएको उनले जानकारी दिइन्।
उनका अनुसार सुत्केरी भएको स्थान घर नजिकै रहेकाले तत्काल स्वास्थ्य संस्थासम्म लैजानुभन्दा घरमै सुरक्षित राखेर उपचार गर्नु उपयुक्त ठानिएको थियो। हाल आमा र नवजात शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू नियमित स्वास्थ्य निगरानीमा रहेको अनमी खत्रीले बताइन्।
करार सेवामा कार्यरत अनमी नमुना खत्री २०७१ सालदेखि स्वास्थ्य क्षेत्रमा कार्यरत छिन्। उनले स्वास्थ्य सेवालाई केवल पेशा नभई सेवाभावका रूपमा लिँदै दुर्गम क्षेत्रमा २४सै घण्टा बिरामीको सेवामा खटिँदै आएको बताएकी छन्।
यस घटनाले दुर्गम क्षेत्रमा सुरक्षित मातृत्व सेवाको पहुँच अझै चुनौतीपूर्ण रहेको यथार्थ उजागर गरेको छ। स्थानीयले दुर्गम बस्तीमा स्वास्थ्य सेवा र पूर्वाधार थप सुदृढ बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।



