

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य सेवामा नागरिकको विश्वास, स्वास्थ्यकर्मीको सुरक्षा र संस्थागत उत्तरदायित्व सुदृढ गर्न दीर्घकालीन सुधार प्रक्रिया अघि बढाएको जनाएको छ। मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने आक्रमणप्रति ‘शून्य सहनशीलता’ को नीति दोहोर्याउँदै सुरक्षित र व्यवस्थित स्वास्थ्य सेवा प्रणाली निर्माणलाई प्राथमिकतामा राखेको छ।
मन्त्रालयका अनुसार नारायणी अस्पतालमा हालै भएको घटनालाई केवल कानुनी कारबाहीको विषयमा सीमित नराखी भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक कानुनी, नीतिगत र संरचनात्मक सुधारका कामलाई तीव्रता दिइएको छ।
यसका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी विद्यमान ऐनलाई समयानुकूल परिमार्जन गर्ने प्रक्रिया सुरु गरिएको मन्त्रालयले जनाएको छ। सम्बन्धित सरोकारवालाको सुझावका आधारमा कानुनी तथा नीतिगत सुधारलाई अन्तिम रूप दिइने पनि मन्त्रालयको भनाइ छ।
यस्तै, प्रशासनिक समन्वय र सेवा प्रवाहलाई प्रभावकारी बनाउन मन्त्रालयले छरिएर रहेका आफ्ना कार्यालय तथा प्रशासनिक संरचनालाई एउटै स्थानमा एकीकृत गर्ने काम पनि अघि बढाएको छ।
रामशाहपथस्थित मन्त्रालयको मुख्य भवन आगलागीबाट पूर्ण रूपमा नष्ट भएपछि मन्त्रालयले विभिन्न अस्थायी स्थानबाट सेवा सञ्चालन गर्दै आएको थियो। हाल मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भवनको दोस्रो र तेस्रो तलामा आफ्नो प्रशासनिक संरचना व्यवस्थापन गरेको छ।
यससँगै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा पनि सोही भवनमा स्थानान्तरण भएका छन्। मन्त्रीको सचिवालय रहेको भवनकै माथिल्लो तलामा सचिवको नयाँ कार्यकक्ष व्यवस्थापन गरिएको छ।
मन्त्रालयका अनुसार सचिवसँग सम्बन्धित शाखा तथा महाशाखाहरूलाई पनि चरणबद्ध रूपमा सोही भवनमा स्थानान्तरण गरिनेछ। सबै प्रशासनिक एकाइ एउटै भवनमा सञ्चालन भएपछि आन्तरिक समन्वय, निर्णय प्रक्रिया र सेवा प्रवाह थप प्रभावकारी हुने विश्वास मन्त्रालयले व्यक्त गरेको छ।



