

काठमाडौं- स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद अन्त्य गर्न सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमति भएको छ। सहमतिसँगै नेपाल चिकित्सक संघले जारी राखेको आन्दोलन तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ।
बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा आयोजित छलफलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा नेपाल चिकित्सक संघका पदाधिकारी सहभागी भएका थिए। छलफलपछि दुवै पक्षले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।
सहमतिअनुसार सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ। ऐनको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक निर्देशिका यथाशीघ्र तयार गरिने तथा स्वास्थ्य संस्थामा हुने तोडफोड, आक्रमण र दुर्व्यवहारका घटनामा कानुनी कारबाही थप प्रभावकारी बनाइने उल्लेख गरिएको छ।
यस्तै, सम्बन्धित मन्त्रालयबीच आवश्यक समन्वय कायम गर्दै स्वास्थ्य संस्थाको सुरक्षा सुनिश्चित गर्न विस्तृत कार्ययोजना तयार गरिनेछ। सो कार्ययोजनाको कार्यान्वयनका लागि नेपाल चिकित्सक संघसँगको सहकार्यमा संयुक्त कार्यदल गठन गर्ने र प्रगतिको नियमित समीक्षा गर्ने सहमति पनि भएको छ।
सम्झौतापछि नेपाल चिकित्सक संघले आन्दोलनका सबै कार्यक्रम तत्काल स्थगित गर्दै देशभर नियमित स्वास्थ्य सेवा पुनः सञ्चालन गर्ने जनाएको छ। यससँगै केही दिनदेखि प्रभावित स्वास्थ्य सेवाहरू क्रमशः सहज हुने अपेक्षा गरिएको छ।



