

काठमाडौं – वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिटको घटनापछि सुरु भएको देशव्यापी चिकित्सक आन्दोलन अन्त्य गर्ने प्रयासस्वरूप सरकार र नेपाल चिकित्सक संघबीचको वार्ता निर्णायक चरणमा पुगेको छ।
आन्दोलनका कारण देशभर आकस्मिक सेवाबाहेक अधिकांश स्वास्थ्य सेवा प्रभावित भइरहेका बेला स्वास्थ्य मन्त्रालयमा बुधबार स्वास्थ्य, गृह र कानुन मन्त्रालयका प्रतिनिधिसहित चिकित्सक संघका पदाधिकारीबीच उच्चस्तरीय छलफल जारी छ।
नेपाल चिकित्सक संघका महासचिव डा. विश्व दवाडीका अनुसार संघले अघि सारेका अधिकांश मागमा सहमति जुट्ने अवस्था बनेको छ। बाँकी विषयमा तीनवटै मन्त्रालयका प्रतिनिधिहरूबीच छलफल भइरहेको उनले बताए।
उनका अनुसार चिकित्सकमाथि आक्रमण गरेको मुख्य आरोपित पक्राउ परिसकेको छ भने घटनाका क्रममा दुर्व्यवहार गरेको आरोप लागेका प्रहरी एसपीको पनि सरुवा भइसकेको छ।
हालको छलफल मुख्य रूपमा ‘स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी सुरक्षा ऐन’ संशोधन र स्वास्थ्य सेवासम्बन्धी विवाद हेर्ने उपभोक्ता अदालतको अधिकारक्षेत्र सम्बन्धी विषयमा केन्द्रित रहेको डा. दवाडीले जानकारी दिए। यी विषयमा सहमति जुटे आन्दोलन पनि अन्त्यतर्फ जाने विश्वास उनले व्यक्त गरे।
चिकित्सक संघले स्वास्थ्यकर्मीमाथि हुने आक्रमणमा कडा कानुनी कारबाहीको व्यवस्था गर्नुपर्ने, साथै स्वास्थ्य सेवा सम्बन्धी विवादको सुनुवाइका लागि उपभोक्ता अदालतको अधिकारक्षेत्र पुनःव्यवस्थित गर्नुपर्ने माग राख्दै आएको छ।
नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिटको विरोधमा चिकित्सकहरूले देशभर आकस्मिकबाहेकका सेवा स्थगित गर्दै आन्दोलन जारी राखेका छन्। यसका कारण हजारौं बिरामी नियमित उपचार सेवाबाट वञ्चित भइरहेका छन्।



