

काठमाडौं – नारायणी अस्पतालमा चिकित्सकमाथि भएको दुर्व्यवहारको घटनापछि उठेको विवादबीच जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सुदीप पाठकको सरुवा गरिएको छ। उनलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा पठाइएको छ।
उनको स्थानमा जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत एसपी पवनकुमार भट्टराईलाई पर्साको प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ। चिकित्सकमाथि भएको आक्रमणको विरोधमा आन्दोलनरत चिकित्सकहरूले पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवाको माग गर्दै आएका थिए।
वीरगञ्जस्थित नारायणी अस्पतालमा भएको घटनाबारे छलफल गर्न बसेको चिकित्सकहरूको वार्ता टोलीले पनि एसपी पाठकको सरुवा हुनुपर्ने माग सरकारसमक्ष राखेको थियो।
नवनियुक्त एसपी भट्टराई यसअघि जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख थिए। जेनजी आन्दोलनपछि काठमाडौंको सुरक्षा व्यवस्थापनलाई सुदृढ बनाउन उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा सरुवा गरिएको थियो। फिल्ड कमान्ड र अपरेसन व्यवस्थापनमा अनुभवी अधिकृतका रूपमा चिनिएका भट्टराईलाई अब पर्साको सुरक्षा नेतृत्वको जिम्मेवारी दिइएको हो।
यसैबीच, एसपी भट्टराईले छाडेको जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मेवारी भने केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत एसपी दानबहादुर थापालाई दिइएको छ।



