

काठमाडौं – भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सर उपचारका लागि अत्यावश्यक मानिने रेडियोथेरापी उपकरण १० दिनदेखि बिग्रिएपछि उपचारका लागि आएका बिरामीले सास्ती भोग्नुपरेको छ। उपकरण सञ्चालनमा नआउँदा धेरै बिरामीको उपचार तालिका प्रभावित भएको छ।
बिरामीका आफन्त गणेशराज उपाध्यायका अनुसार रेडियोथेरापी गर्ने पालो आएकै बेला मेसिन बिग्रिएपछि उपचार रोकिएको छ। उनले ब्रेन ट्युमरको शल्यक्रियापछि क्यान्सर पुष्टि भएका आफ्ना भाइको रेडियोथेरापी नै उपचारको मुख्य विकल्प रहेको बताए। मेसिन बन्द भएपछि बाध्य भएर बाहिर उपचारका लागि ५० हजार रुपैयाँ खर्च गरिसकेको उनको भनाइ छ।
उपाध्यायले उपकरण मर्मतका लागि आवश्यक सामग्री बिहीबारसम्म आइपुग्ने भनिए पनि अझै अस्पतालमा नपुगेको बताए। प्रभावित बिरामीहरूले मेसिन तत्काल मर्मत गरी नियमित सेवा पुनः सञ्चालन गर्न माग गरेका छन्।
अस्पतालले भने केही दिनभित्रै रेडियोथेरापी सेवा पुनः सञ्चालन हुने जनाएको छ। अस्पतालकी सूचना अधिकारी राजमती गोसाइँका अनुसार आवश्यक पार्टपुर्जा भन्सारसम्म आइपुगेको छ र प्रक्रिया पूरा हुनेबित्तिकै अस्पतालमा ल्याइनेछ।
उनका अनुसार साउन ३ गते राति भएको ‘हाई भोल्टेज’का कारण उपकरणको फ्युज र चिप्समा क्षति पुगेपछि सेवा अवरुद्ध भएको हो। सामान प्राप्त भएपछि मेसिन मर्मत गरी चाँडै सेवा पुनः सुरु गरिने अस्पतालको भनाइ छ।
भक्तपुर क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा लिन बिरामीहरूले सामान्य अवस्थामा पनि महिनौँसम्म पालो कुर्नुपर्ने अवस्था रहेको छ।



