

काठमाडौं – सशस्त्र प्रहरी बलले काठमाडौंबाट ठूलो परिमाणमा लागूऔषध बरामद गर्दै तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको साथबाट एक लाख २० हजार क्याप्सुल लागूऔषध, नगद, सवारीसाधन र मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार साउन १२ गते काठमाडौं महानगरपालिका–१४ गाङखेल क्षेत्रमा गरिएको विशेष कारबाहीका क्रममा भारतका २६ वर्षीय राकेश कुमार शाह, बाराको कलैया–५ निवासी २१ वर्षीय नौसाद अन्सारी र ओखलढुंगाको मानेभञ्ज्याङ–५ घर भई हाल ललितपुर महालक्ष्मी–६ बस्ने २४ वर्षीय दीपक राई पक्राउ परेका हुन्।
भारतबाट अवैध रूपमा लागूऔषध नेपाल भित्र्याई बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल इन्क्टेलिजेन्स ब्युरोको विशेष टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
कारबाहीका क्रममा ‘डामाडोल’ नामक लागूऔषधका एक लाख २० हजार क्याप्सुल, टाटा कम्पनीको बीएसी ७०१७ नम्बरको हात्ती गाडी, बागमती प्रदेश ०२–०६५ प ४४८९ नम्बरको मोटरसाइकल, तीन थान मोबाइल र नेपाली रुपैयाँ बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनालाई बरामद लागूऔषध, नगद तथा अन्य सामानसहित थप अनुसन्धान र कानुनी कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाउने तयारी गरिएको छ।



