

काठमाडौं – वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा गरिएको तोडफोड घटनाका दोषीमाथि कानुनी कारबाही नभएको भन्दै नेपाल चिकित्सक संघले देशव्यापी आन्दोलनलाई थप कडा बनाएको छ।
संघले आज देशभरका सरकारी तथा निजी स्वास्थ्य संस्थामा आकस्मिक सेवाबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको जनाएको छ। संघका अध्यक्ष डा. बद्रि रिजाल र महासचिव डा. विश्वराज दवाडीद्वारा जारी विज्ञप्तिमा घटना भएको चार दिन बितिसक्दा पनि दोषीमाथि मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अघि नबढाइएकोप्रति गम्भीर आपत्ति जनाइएको छ।
विज्ञप्तिमा पीडित चिकित्सक तथा स्वास्थ्यकर्मीले न्याय नपाएको, वार्ताका क्रममा सहभागी चिकित्सकमाथि पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखबाट दुर्व्यवहार भएको आरोपसमेत लगाइएको छ। यस्ता घटनाले स्वास्थ्यकर्मीको सुरक्षा र सम्मानमाथि गम्भीर प्रश्न उठाएको भन्दै सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने संघको माग छ।
पूर्वअध्यक्ष, पूर्वमहासचिव, वरिष्ठ चिकित्सक, अस्पताल निर्देशक, विशेषज्ञ समाज, आवासीय चिकित्सक तथा विभिन्न स्वास्थ्यकर्मी संघ–संस्थासँगको छलफल र केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकपछि आन्दोलनका कार्यक्रम तय गरिएको संघले जनाएको छ।
आन्दोलनअन्तर्गत काठमाडौं उपत्यकाका चिकित्सक तथा स्वास्थ्यकर्मी बिहान १० बजे माइतीघर मण्डलामा भेला भई विरोध प्रदर्शन गर्नेछन्। उपत्यकाबाहिरका चिकित्सक तथा स्वास्थ्यकर्मीले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने तथा आफू कार्यरत स्वास्थ्य संस्थामै धर्ना र विरोध कार्यक्रम सञ्चालन गर्नेछन्।
नेपाल चिकित्सक संघले विशेषज्ञ समाज, एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) लगायत स्वास्थ्य क्षेत्रका सम्पूर्ण संघ–संस्था, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आन्दोलनमा ऐक्यबद्धता जनाउन आग्रह गरेको छ।
आन्दोलनका कारण सेवाग्राहीलाई पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै संघले यसको सम्पूर्ण जिम्मेवारी सरकारको निष्क्रियताले निम्त्याएको दाबी गरेको छ।



