

वीरगञ्ज – वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र दुर्व्यवहारको घटनापछि अस्पतालका ६८ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। सुरक्षाको सुनिश्चितता नभएको भन्दै उनीहरूले आकस्मिक सेवासमेत बन्द गरेर आन्दोलनलाई थप कडा बनाएका छन्।
गत शनिबार एक बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पतालको आकस्मिक कक्षमा तोडफोड गर्नुका साथै ड्युटीमा रहेका चिकित्सकमाथि हातपात गरेका थिए। उक्त घटनापछि चिकित्सकहरूले अस्पतालमा आफूहरू असुरक्षित भएको जनाउँदै दोषीमाथि तत्काल कानुनी कारबाही र स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न माग गरेका छन्।
चिकित्सकहरूका अनुसार घटनापछि सुरक्षा व्यवस्थाबारे छलफल गर्न जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले समेत अपमानजनक व्यवहार भोग्नुपरेको थियो। वार्ताका क्रममा तनाव उत्पन्न भएपछि प्रहरीले चिकित्सकलाई नियन्त्रणमा लिएको, मोबाइलसमेत खोसेको र अपराधीसरह व्यवहार गरेको आरोप उनीहरूले लगाएका छन्।
यस घटनापछि चिकित्सकहरूले पेशागत सम्मान र सुरक्षामाथि गम्भीर प्रश्न उठेको निष्कर्ष निकाल्दै सामूहिक राजीनामा दिएका हुन्। उनीहरूले निष्पक्ष छानबिन, दोषीमाथि कडा कानुनी कारबाही, स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित तथा घटनामा जिम्मेवार प्रशासनिक नेतृत्वमाथि आवश्यक कारबाही गर्न सरकारसँग माग गरेका छन्।
यता नेपाल चिकित्सक संघले देशभर ओपीडी सेवा बन्द गर्ने निर्णय गरेपछि उपचारका लागि अस्पताल पुग्ने बिरामी प्रत्यक्ष प्रभावित भएका छन्।



