

काठमाडौं – नेपाल मेडिकल काउन्सिलमा स्थायी रजिष्ट्रार नियुक्ति हुन नसकिरहेका बेला स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रजिष्ट्रारमा फेरि निमित्तमाथि निमित्त जिम्मेवारी दिएको छ। विवादित कार्यशैलीका कारण आलोचनामा परेका निमित्त रजिष्ट्रार डा. दीपेन्द्र पाण्डे १० दिनको बिदामा बसेपछि मन्त्रालयले काउन्सिल सदस्य डा. अजयकुमार शाहलाई साउन ४ देखि १४ गतेसम्मका लागि निमित्त रजिष्ट्रार तोकेको हो।
स्वास्थ्य मन्त्रीस्तरीय निर्णयअनुसार डा. पाण्डेको अनुपस्थितिमा शाहलाई जिम्मेवारी दिइएको मन्त्रालयको पत्रमा उल्लेख छ। डा. पाण्डेले पीएचडी अध्ययनको कारण देखाउँदै १० दिनको बिदाका लागि मन्त्रालयमै निवेदन दिएका थिए।
तर, डा. पाण्डेको बिदा केवल प्रशासनिक विषयमा मात्र सीमित छैन। स्रोतका अनुसार उनी निमित्त रजिष्ट्रार बनेपछि गरेका निर्णय र कार्यशैलीका कारण चौतर्फी विवादमा परेका थिए। काउन्सिलको क्षेत्राधिकारभन्दा बाहिर गएर योग तथा प्राकृतिक चिकित्सक (नेचुरोप्याथ) डा. चेतना पौडेललाई पक्राउ गराउन प्रहरी परिचालन गरेको, ‘नक्कली चिकित्सा नियन्त्रण अभियान’ सञ्चालन गरेको तथा अघिल्लो बोर्डले विदेशमा रहेका चिकित्सकको लाइसेन्स खारेज गर्ने निर्णय उल्टाएको आरोप उनीमाथि छ।
यस्तै महानगरपालिकाको स्वीकृतिमा सञ्चालन भइरहेका अस्पतालमा छापा हान्ने, अस्पताल बन्द गराउन पत्राचार गर्ने, काउन्सिलबाट स्वीकृति प्राप्त विदेशी चिकित्सकको काममा रोक लगाउनेलगायतका गतिविधिले पनि उनको कार्यशैलीमाथि प्रश्न उठेको थियो।
स्रोतका अनुसार यिनै गतिविधिका कारण चौतर्फी दबाब बढेपछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूले समेत डा. पाण्डेको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेकाे स्राेत बताउँछ।
सरकारले अध्यादेशपछि रिक्त रहेको काउन्सिलको अध्यक्ष र रजिष्ट्रार पदमा स्थायी नियुक्ति गर्न नसक्दा निमित्तकै भरमा संस्था सञ्चालन भइरहेको छ। यसअघि निर्वाचित सदस्यलाई निमित्त रजिष्ट्रार नतोक्ने प्रचलन तोड्दै डा. पाण्डेलाई जिम्मेवारी दिइएको थियो भने उनी बिदामा गएपछि फेरि अर्का सदस्य डा. अजयकुमार शाहलाई निमित्त दिइएको छ।
अब १४ गतेपछि डा. पाण्डेलाई पुनः जिम्मेवारी दिइने वा डा. शाहलाई नै निरन्तरता दिइने भन्ने विषयमा भने मन्त्रालयमा अन्याैलता छ। तर, यसरी निमित्तमाथि निमित्त दिइनु सबैका लागि संशयको विषय बनेको छ ।



