

काठमाडौं – औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा दर्ता प्रमाणपत्र नवीकरणका लागि सम्बन्धित स्थानीय तहको सिफारिस पत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ।
विभागले जारी गरेको जरुरी सूचनाअनुसार संशोधित नागरिक वडापत्रअनुसार भइरहेको सेवा प्रवाहलाई निरन्तरता दिँदै औषधि व्यवसायलाई थप व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउन यस्तो व्यवस्था लागू गरिएको हो।
अब नयाँ फार्मेसी दर्ता गर्न वा सञ्चालनमा रहेका फार्मेसीको दर्ता प्रमाणपत्र नवीकरणका लागि निवेदन दिँदा प्रचलित कानुनबमोजिम आवश्यक अन्य कागजातसँगै सम्बन्धित स्थानीय तहको सिफारिस पत्र पनि अनिवार्य रूपमा संलग्न गर्नुपर्ने विभागले जनाएको छ।
विभागले सम्बन्धित व्यवसायी, सरोकारवाला तथा सर्वसाधारणलाई उक्त व्यवस्था पालना गरी प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।



