

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले नारायणी अस्पताल, वीरगञ्जमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि अस्पतालमा भएको तोडफोड र स्वास्थ्यकर्मीमाथिको आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै घटनामा संलग्नलाई कानुनबमोजिम कारबाही गरिने बताएकी छन्।
सोमबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै मन्त्री मेहताले बिरामीको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेकी छन्। उनले घटनापछि आकस्मिक कक्षमा भएको तोडफोड तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीमाथिको आक्रमणलाई अस्वीकार्य भएको उल्लेख गरेकी छन्।
मन्त्री मेहताका अनुसार घटना भएलगत्तै गृहमन्त्री सुधन गुरुङ, नेपाल प्रहरीका महानिरीक्षक, पर्साका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट तथा नेपाल मेडिकल एसोसिएसनका पदाधिकारीसँग समन्वय गरेर आवश्यक पहल अघि बढाइएको छ।
उनले घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरिसकेको र थप अनुसन्धान तथा कानुनी प्रक्रिया जारी रहेको जानकारी दिँदै निष्पक्ष छानबिनपछि दोषी सबैलाई कानुनअनुसार कारबाही गरिने स्पष्ट पारेकी छन्।
घटनामा गम्भीर घाइते भएका मेडिकल अफिसर डा. प्रमोद रामको स्वास्थ्य अवस्थाबारे आफूले जानकारी लिएको उल्लेख गर्दै उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिइएको र उपचारको सम्पूर्ण व्यवस्था नेपाल सरकारले मिलाएको मन्त्री मेहताले बताएकी छन्।
घटनाको यथार्थ बुझ्न, अवस्था अनुगमन गर्न तथा अस्पतालको सेवा नियमित बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट प्रतिनिधि टोली वीरगञ्ज पठाइएको पनि उनले जानकारी दिइन्।
मन्त्री मेहताले स्वास्थ्यकर्मीमाथिको आक्रमण कुनै एक व्यक्तिमाथिको हिंसा मात्र नभई सम्पूर्ण स्वास्थ्य प्रणाली र नागरिकको उपचार पाउने अधिकारमाथिको आघात भएको उल्लेख गर्दै स्वास्थ्य संस्थामा हुने हिंसाप्रति सरकारले शून्य सहनशीलताको नीति अपनाएको दोहोर्याएकी छन्।
उनले नारायणी अस्पतालमा स्वास्थ्य सेवा निर्बाध सञ्चालनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइएको, चिकित्सक, स्वास्थ्यकर्मी र सेवाग्राहीले भयमुक्त वातावरणमा सेवा दिन र लिन सक्ने अवस्था सुनिश्चित गर्न मन्त्रालयले नेपाल प्रहरी तथा सम्बन्धित निकायसँग निरन्तर समन्वय गरिरहेको बताइन्।
स्वास्थ्य संस्था नागरिकको जीवन बचाउने आशाको केन्द्र भएकाले कुनै पनि असन्तुष्टि वा आक्रोशको अभिव्यक्ति हिंसामार्फत हुन नसक्ने उल्लेख गर्दै मन्त्री मेहताले सबै पक्षलाई संयम, सहयोग र सहकार्य गर्न अपिल गरेकी छन्।



