

काठमाडौं – हस्पिटल फर एडभान्स्ड मेडिसिन एन्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल) ले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८२/८३ को वार्षिक साधारणसभाबाट आईपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गर्ने भएको हो।
कम्पनीको सञ्चालक समितिको साउन ५ गते बसेको बैठकले वार्षिक साधारणसभा साउन २५ गते शुक्रबार दिउँसो २ बजे काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट दरबारमा आयोजना गर्ने निर्णय गरेको छ।
साधारणसभामा सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने प्रस्तावसँगै सार्वजनिक निष्कासनबाट संकलन हुने पुँजीको उपयोगसम्बन्धी प्रस्ताव पनि छलफल तथा अनुमोदनका लागि पेश गरिनेछ।
यसका साथै, आईपीओ निष्कासन प्रक्रियाका क्रममा नियामक निकायबाट आवश्यक निर्देशन वा संशोधन प्राप्त भएमा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक परिमार्जन गर्न सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार दिने विशेष प्रस्ताव पनि सभाबाट पारित गर्ने तयारी गरिएको छ।
सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण अनुमोदन गर्ने, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिका निर्णय अनुमोदन गर्ने तथा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत स्वीकृत गर्ने कार्यसूची रहेको छ।



