

काठमाडौं – नेपाल प्राइभेट मेडिकल तथा डेन्टल कलेज एसोसिएसनका अध्यक्ष प्रा. डा. ज्ञानेन्द्रमान सिंह कार्कीले डा. गोविन्द केसीको २४औँ सत्याग्रहप्रति कडा प्रतिक्रिया दिएका छन्। उनले लोकतन्त्रमा विरोध गर्ने अधिकार सबैलाई भए पनि व्यक्तिगत रूपमा मन नपरेको भन्दै कसैलाई हटाउन माग गर्नु उचित नहुने बताएका छन्।
“लोकतन्त्रमा विरोध गर्ने अधिकार सबैलाई हुन्छ। तर मलाई तपाईं मन परेन, तपाईंलाई हटाइदिन्छु भन्न मिल्छ कि मिल्दैन ?” उनले प्रश्न गरे। मेडिकल कलेजमा विद्यार्थी सिट निर्धारण वर्षौंको अध्ययन र अनुसन्धानपछि सम्बन्धित निकायले गर्ने भएकाले त्यसको विरोध गर्नु उचित नभएको उनको भनाइ छ।
“राज्यको ठूलो निकायले वर्षौंसम्म ठूलो अनुसन्धान गरेर सिट निर्धारण गरेको हुन्छ। सिट निर्धारण हचुवाको भरमा हुँदैन। त्यसको विरोध गर्ने डा. गोविन्द केसीको मानसिक स्थिति ठीक छैन वा उनी अज्ञानी हुन्,” उनले भने।
कार्कीले डा. केसीलाई पहिले मेडिकल कलेजको निरीक्षण गर्न आग्रह गर्दै निरीक्षण नगरी निजी मेडिकल कलेजलाई ‘माफिया’ भन्न नमिल्ने बताए। “सुरुमा आएर मेडिकल कलेज निरीक्षण गर्न आग्रह गर्छु। निरीक्षण नै नगरी मेडिकल कलेजलाई माफिया भन्न पाउँछ ?” उनले भने।
उनले डा. केसीले केही सुधारात्मक काम गरेको स्वीकार गरे पनि वर्षभर निष्क्रिय रहेर भर्ना हुने समयमा मात्रै अनशन बस्ने शैलीको आलोचना गरे। “उनले केही सुधारात्मक कार्य गरेका होलान्। तर ११ महिना सुतेर भर्ना हुने समयमा अनशन बस्दैमा केही हुँदैन,” उनले टिप्पणी गरे।
कार्कीले वर्तमान सरकारले पनि डा. केसीको आन्दोलनबाट नडराउने दाबी गर्दै व्यक्तिगत टिप्पणीसमेत गरे।”आन्दोलनबाट आएको जेनजी सरकार उनको आन्दोलनबाट डराउँछ ? डाक्टरको रूपमा मेरो नजरमा उनी मानसिक रूपमा बिरामी छन्। उहाँलाई उपचारको आवश्यकता छ,” उनले भने।
सामाजिक सञ्जालमा पनि डा. केसीको अनशनको विरोध भइरहेको दाबी गर्दै उनले त्यसतर्फ पनि ध्यान दिन आग्रह गरे। “अहिले सामाजिक सञ्जालमा उनको अनशनको जनस्तरबाट विरोध भइरहेको छ। उनी सामाजिक सञ्जालमा आएका कमेन्ट हेर्दैनन् ?” उनले भने।
गेटा मेडिकल कलेज निर्माण भइरहेका बेला त्यहीँ पुगेर अनशन बस्नुले नकारात्मक सन्देश गएको उनको भनाइ छ। “बल्लतल्ल कैलालीको गेटामा मेडिकल कलेज बनिरहेको छ। अनि उनी त्यहीँ गएर अनशन बस्नुले के सन्देश जान्छ ?” उनले प्रश्न गरे।
कार्कीले काठमाडौंबाहिर निजी मेडिकल कलेजहरूले स्वास्थ्य सेवा विस्तारमा महत्वपूर्ण भूमिका खेलेको दाबी गर्दै विद्यार्थी सिट बढ्दा विदेशबाट विद्यार्थी आउने, विदेशी मुद्रा भित्रिने र देशको अर्थतन्त्रलाई समेत फाइदा पुग्ने बताए।
“ठूला सरकारी अस्पताल काठमाडौंमा छन्। काठमाडौं बाहिर निजी मेडिकल कलेजले सेवा दिइरहेका छन्। अहिले देशबाहिरबाट विद्यार्थी आउँछन्। देशको आर्थिक स्थिति बलियो बनेको छ। त्यसअर्थमा सिट बढेकोमा बाह्य अर्थ पनि भित्रन्छ,” उनले भने।



