

काठमाडौं – भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मी कर्मचारी सेवा तथा सर्तसम्बन्धी विनियमावली तत्काल पारित गर्न माग गर्दै आन्दोलनमा उत्रिएका छन्। लामो समयदेखि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा विनियमावली अड्किँदा सेवा–सुविधा र वृत्ति विकास प्रभावित भएको भन्दै उनीहरूले विरोध सुरु गरेका हुन्।
आन्दोलनको पहिलो चरणअन्तर्गत कर्मचारीहरूले पाखुरामा कालोपट्टी बाँधेर सांकेतिक विरोध गर्दै सेवा दिएका थिए। माग सम्बोधन नभए अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेको कार्यकक्षमा तालाबन्दी गर्ने चेतावनीसमेत दिएका छन्।
आन्दोलनरत कर्मचारीका अनुसार विनियमावली पारित नहुँदा अस्पतालमा कार्यरत ३७२ कर्मचारीको पदोन्नति, स्थायी प्रक्रिया, सेवा–सुविधा तथा वृत्ति विकास अवरुद्ध भएको छ। करार र दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई स्थायी व्यवस्थाको सुनिश्चितता गर्नुपर्ने उनीहरूको मुख्य माग छ।
अस्पताल प्रशासन प्रमुख राजाराम तजले पनि विनियमावली नहुँदा अस्पताल सञ्चालनमै कानुनी अन्योल रहेको स्वीकार गरेका छन्। उनका अनुसार नियुक्ति, बढुवा, बिदा, उपदान तथा कर्मचारीको कानुनी हैसियत निर्धारणजस्ता विषयमा स्पष्ट व्यवस्था नहुँदा प्रशासनलाई समस्या भइरहेको छ।
सरकारले २०७७ कात्तिक २४ गते भक्तपुर क्यान्सर अस्पताललाई आफ्नै मातहतमा ल्याएपछि कर्मचारी सेवा–सुविधा सम्बन्धी विनियमावली तयार गर्ने प्रक्रिया सुरु भएको थियो। २०८३ जेठ १३ गते अस्पताल व्यवस्थापन समितिले विनियमावली स्वीकृत गरे पनि हालसम्म मन्त्रालयबाट अन्तिम निर्णय हुन सकेको छैन।
कर्मचारीहरूले नियमावली पारितमा जानाजान ढिलाइ गरिएको आरोप लगाएका छन्। उनीहरूले स्पष्ट कानुनी व्यवस्था नहुँदा अस्पतालमा पारदर्शिता र कर्मचारी व्यवस्थापन प्रभावित भएको दाबी गरेका छन्।



