

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाललाई आयुर्वेदिक आरोग्य (वेलनेस) पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित आयुर्वेद सेवा सुधार, सेवा विस्तार र नीतिगत व्यवस्थापनबारे उच्चस्तरीय छलफल गरेको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा बुधबार आयोजित छलफलमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग र सम्बन्धित स्वास्थ्य संस्थाका प्रमुखहरूले आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउने, राष्ट्रिय स्वास्थ्य प्रणालीसँग एकीकृत गर्ने तथा स्वास्थ्य पर्यटनसँग जोडेर अघि बढाउने विषयमा विस्तृत छलफल गरेका हुन्।
मन्त्री मेहताले नेपाल आयुर्वेदको उद्गमस्थल भएकाले यसको संरक्षण, प्रवर्द्धन र व्यवस्थित विकास आवश्यक रहेको बताइन्। उनले आयुर्वेद तथा वैकल्पिक चिकित्सा सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै आवश्यक नीतिगत तथा संस्थागत सहयोग गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारिन्।
छलफलमा पोखरास्थित गण्डकी आयुर्वेद अस्पताल, कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र तथा बुढानीलकण्ठस्थित राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग केन्द्रलाई आयुर्वेदिक आरोग्य पर्यटनका प्रमुख केन्द्रका रूपमा विकास गर्ने विषयमा विशेष जोड दिइएको थियो। ती संस्थामा पूर्वाधार विस्तार, विशेषज्ञ जनशक्ति व्यवस्थापन तथा अन्तर्राष्ट्रियस्तरको वेलनेस सेवा विकास गर्ने रणनीति अघि बढाइने मन्त्रालयले जनाएको छ।
सहभागीहरूले आयुर्वेद सेवालाई स्वास्थ्य बीमा कार्यक्रममा समावेश गर्ने, संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण सम्पन्न गर्ने, मन्त्रालयभित्र आयुर्वेदसम्बन्धी संस्थागत संरचना सुदृढ गर्ने, जडीबुटी उत्पादनदेखि औषधि निर्माणसम्मको मूल्य शृंखला विकास गर्ने तथा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को असल उत्पादन अभ्यास (जीएमपी) मापदण्डअनुसार उत्पादन प्रणाली सुदृढ गर्नुपर्ने सुझाव दिएका थिए।
छलफलमा मन्त्रालयका उच्च अधिकारी, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, सिंहदरबार वैद्यखाना, नरदेवी आयुर्वेद चिकित्सालय, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, नेपाल आयुर्वेद चिकित्सक संघ तथा राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग केन्द्रका प्रतिनिधिहरू सहभागी थिए।



