

काठमाडौं- अघिल्ला वर्षहरूको तुलनामा यस वर्ष नेपालमा डेंगु संक्रमणको संख्या कम देखिए पनि स्वास्थ्य विज्ञहरूले यसलाई जोखिम समाप्त भएको संकेतका रूपमा नलिन आग्रह गरेका छन्। मनसुन सक्रिय भएसँगै विभिन्न स्थानमा पानी जम्न थालेकाले आगामी केही सातादेखि डेंगु संक्रमण पुनः बढ्न सक्ने चेतावनी उनीहरूले दिएका छन्।
स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को जुन १५ सम्मको तथ्यांकअनुसार देशका ७१ जिल्लामा एक हजार ४२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भइसकेको छ। यो संख्या सन् २०२२ र २०२३ को महामारीको तुलनामा कम भए पनि आगामी जोखिमका लागि तयारी गर्नुपर्ने अवस्था रहेको विज्ञहरूको भनाइ छ।
ईडीसीडीको कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार हाल संक्रमण कम हुनुमा स्थानीय तह, स्वास्थ्य निकाय र समुदायको सक्रिय सरसफाइ अभियान, पानी जम्न नदिने प्रयास तथा लामखुट्टेको लार्भा नष्ट गर्ने कार्यक्रम प्रभावकारी भएका छन्। तर नेपालमा डेंगुको मुख्य सिजन अगस्टदेखि अक्टोबरसम्म हुने भएकाले मनसुन बढ्दै जाँदा संक्रमण उकालो लाग्न सक्ने सम्भावना रहेको उनले बताए।
उनका अनुसार डेंगु नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय उपचारभन्दा पनि लामखुट्टेको प्रजनन रोक्नु हो। घरभित्र तथा वरपर पानी जम्न नदिने, गमला, ड्रम, ट्याङ्की, बाल्टिनलगायतका भाँडामा नियमित पानी फेर्ने वा खाली गर्ने र सातामा कम्तीमा एक पटक सरसफाइ गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने उनले सुझाव दिए।
संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले संक्रमित संख्या घटेकै आधारमा ढुक्क हुने अवस्था नरहेको बताए। उनका अनुसार डेंगु अब नेपालमा मौसमी रोग मात्र नभई हरेक दुई–तीन वर्षमा महामारीका रूपमा दोहोरिने गम्भीर जनस्वास्थ्य समस्या बनिसकेको छ। सन् २०१९ र २०२२ मा नेपालले डेंगुको ठूलो प्रकोप भोगेको स्मरण गराउँदै उनले महामारी सकिएपछि नियन्त्रणका प्रयास पनि सुस्ताउने प्रवृत्तिका कारण जोखिम झन् बढ्दै गएको बताए।
डा. पुनका अनुसार डेंगुबारे समाजमा रहेको ठूलो भ्रम भनेको ज्वरो घटेपछि रोग निको हुन्छ भन्ने हो। वास्तवमा ज्वरो घटेको २४ देखि ४८ घण्टाभित्र बिरामी ‘क्रिटिकल फेज’ मा प्रवेश गर्न सक्ने भएकाले यही समयमा बढी सतर्क रहनुपर्ने हुन्छ। लगातार बान्ता हुनु, अत्यधिक पेट दुख्नु, नाक वा गिजाबाट रगत आउनु, दिसा वा पिसाबमा रगत देखिनु, सास फेर्न गाह्रो हुनु वा अत्यधिक कमजोरी महसुस भए तत्काल अस्पताल पुग्नुपर्ने उनले बताए।
उनका अनुसार डेंगु भाइरसबाट हुने रोग भएकाले एन्टिबायोटिक प्रभावकारी हुँदैन। चिकित्सकको सल्लाहबिना आइबुप्रोफेन, डाइक्लोफेनाक वा एस्पिरिनजस्ता औषधि सेवन गर्दा रक्तस्रावको जोखिम बढ्न सक्छ। पर्याप्त आराम, प्रशस्त झोलिलो पदार्थ र चिकित्सकले सिफारिस गरेका औषधि मात्र प्रयोग गर्नुपर्ने उनको सुझाव छ।
विशेषज्ञहरूका अनुसार डेंगुबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय रोकथाम नै हो। एडिस लामखुट्टे बिहान र दिउँसो पनि सक्रिय रहने भएकाले व्यक्तिगत सावधानीसँगै समुदायस्तरमा सरसफाइ र लामखुट्टे नियन्त्रण अभियानलाई निरन्तरता दिन आवश्यक छ। उनीहरूले अहिले संक्रमण कम देखिए पनि यसलाई उपलब्धि होइन, आगामी सम्भावित महामारीको पूर्वतयारी गर्ने अवसरका रूपमा लिनुपर्नेमा जोड दिएका छन्।



