

काठमाडौं – मधेश प्रदेशमा विशेषज्ञ मिर्गौला उपचार सेवाको पहुँच विस्तार गर्न गठित सम्भाव्यता अध्ययन समितिले जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस गरेको छ।
समितिले प्राविधिक, पूर्वाधार, जनशक्ति, आर्थिक तथा सामाजिक पक्षको अध्ययनपछि संघ र प्रदेश सरकारको सहकार्यमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुरमार्फत केन्द्र सञ्चालन गर्नु उपयुक्त हुने निष्कर्ष निकालेको हो। प्रस्तावित केन्द्र धनुषाको जनकपुरधाम उपमहानगरपालिका–मुजेलियामा सार्वजनिक मोडलमा स्थापना गर्ने सुझाव प्रतिवेदनमा उल्लेख गरिएको छ।
आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रमअनुसार प्रदेशस्तरमा क्यान्सर तथा मिर्गौला प्रत्यारोपणजस्ता जटिल उपचार सेवा विस्तार गर्ने लक्ष्यका साथ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गठन गरेको अध्ययन समितिले विभिन्न अस्पतालको स्थलगत अध्ययन, सरोकारवालासँगको छलफल तथा प्राविधिक मूल्याङ्कनपछि प्रतिवेदन तयार गरेको हो।
प्रतिवेदनअनुसार नेपालमा करिब ६.२ प्रतिशत जनसंख्या कुनै न कुनै प्रकारको मिर्गौला रोगबाट प्रभावित छन्। मधेश प्रदेशमा विशेषज्ञ नेफ्रोलोजिस्ट, हेमोडायलाइसिस मेसिन र मिर्गौला प्रत्यारोपण सेवाको पहुँच सीमित भएकाले अधिकांश बिरामी उपचारका लागि काठमाडौं तथा अन्य प्रदेश जान बाध्य छन्।
समितिले संघ, प्रदेश र संघ–प्रदेश सहकार्यका तीन मोडल अध्ययन गरी संघ–प्रदेश सहकार्यलाई सबैभन्दा प्रभावकारी ठहर गरेको छ। प्रतिवेदनमा जनकपुरमा मिर्गौला उपचार केन्द्र स्थापना भए मधेश प्रदेशका बिरामीले आफ्नै प्रदेशमा विशेषज्ञ सेवा पाउने, काठमाडौं केन्द्रित उपचारको चाप घट्ने र प्रदेशको स्वास्थ्य सेवा थप सुदृढ हुने उल्लेख गरिएको छ।



