

काठमाडौं – सामाजिक सुरक्षा कोषले आफ्ना योगदानकर्तालाई स्वास्थ्य सेवा प्राप्त गर्ने क्रममा कुनै समस्या वा विभेदपूर्ण व्यवहार भए तत्काल गुनासो दर्ता गर्न आग्रह गरेको छ।
कोषले सोमबार सूचना जारी गर्दै औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना र दुर्घटना तथा अशक्तता सुरक्षा योजना अन्तर्गत सेवा लिन जाँदा सम्झौतामा रहेका अस्पतालले सेवा दिन अस्वीकार गरे, अनावश्यक ढिलाइ गरे वा विभेदपूर्ण व्यवहार गरेमा तत्काल जानकारी गराउन अनुरोध गरेको हो।
कोषका अनुसार योगदानकर्ताले स्वास्थ्य सेवा लिनुअघि आफ्नो नाम योगदानकर्ता सूचीमा रहेको र केवाइसी विवरण अद्यावधिक भएको सुनिश्चित गर्नुपर्छ। साथै, उपचारका क्रममा सामाजिक सुरक्षा कोषबाट जारी गरिएको भौतिक वा भर्चुअल परिचयपत्र अनिवार्य रूपमा प्रस्तुत गर्नुपर्नेछ।
कोषले सम्झौतामा रहेका अस्पतालहरूले चिकित्सकले सिफारिस गरेका औषधि उपलब्ध नगराउने, शल्यक्रिया गर्न अस्वीकार गर्ने, बिरामी भर्ना लिन नमानेर फर्काउने, ओपिडी समय सकिएको भन्दै सेवा नदिने वा अन्य कुनै पनि प्रकारको विभेदपूर्ण व्यवहार गर्न नपाउने स्पष्ट पारेको छ।
यस्ता समस्या आएमा योगदानकर्ताले मोबाइल तथा व्हाट्सएप नम्बर ९८५१३४५८१४, कल सेन्टर १११६, इमेल claim@ssf.gov.np वा फोन नम्बर ०१–५३६०३१५ मार्फत गुनासो दर्ता गराउन सक्ने कोषले जनाएको छ।



