

धरान- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको परिसरमा सञ्चालन भइरहेका ३५ वटा औषधी पसल सिलबन्दी गरिएको छ। अनुगमनका क्रममा आवश्यक कानुनी प्रक्रिया पूरा नगरेका तथा सञ्चालनमा कमजोरी देखिएका पसलमाथि कारबाही गरिएको हो।
इलाका प्रशासन कार्यालय धरान, इलाका प्रहरी कार्यालय, औषधी व्यवस्था विभाग विराटनगर र सम्बन्धित वडा कार्यालयका प्रतिनिधिसहितको संयुक्त टोलीले गत असार अन्तिम सातादेखि प्रतिष्ठान परिसरका औषधी पसलको अनुगमन सुरु गरेको थियो।
इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक बिनालाल साहका अनुसार सोमबारसम्म गरिएको अनुगमनका क्रममा विभिन्न कानुनी त्रुटि भेटिएपछि ३५ वटा औषधी पसलमा सिलबन्दी गरिएको हो।
अनुगमनका क्रममा आवश्यक कागजात नभएका, अरू व्यक्तिको नाममा सञ्चालन भएका, दर्तावाला फार्मासिस्टको उपस्थिति नरहेका, व्यवसाय नवीकरण नगरेका तथा अनुगमन टोली पुगेपछि पसल बन्द गरेर सम्पर्कविहीन भएका पसललाई कारबाही गरिएको प्रहरीले जनाएको छ।
यस्तै, अनुगमन प्रक्रियामा असहयोग गर्ने औषधी पसलमाथि समेत सिलबन्दी गरिएको प्रहरी निरीक्षक साहले जानकारी दिए।
सिल गरिएका पसलका सञ्चालकलाई आवश्यक कागजातसहित सम्बन्धित निकायमा उपस्थित हुन निर्देशन दिइएको छ। कागजात परीक्षणपछि प्रचलित कानुनअनुसार थप कारबाही अघि बढाइने प्रशासनले जनाएको छ।
गत महिना प्रतिष्ठान परिसरबाट बिचौलियाको आरोपमा १२ जना पक्राउ परेपछि जिल्ला प्रशासन कार्यालयले प्रतिष्ठानभित्र सञ्चालन भइरहेका औषधी पसल तथा अन्य सेवाको अनुगमनलाई तीव्र बनाएको हो।
प्रशासनले प्रतिष्ठान परिसरमा सञ्चालन हुने औषधी पसलले कानुनी मापदण्ड पूरा गरेर मात्र व्यवसाय सञ्चालन गर्नुपर्ने जनाएको छ। अनुगमनलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रशासनको भनाइ छ।



