

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य सेवासहित निजामतीतर्फ रिक्त रहेका उच्च तहका पदमा स्थायी पदपूर्तिको प्रक्रिया अघि बढाएको छ। मन्त्रालयले मातहतका कार्यालय तथा संस्थालाई रिक्त दरबन्दीको अद्यावधिक विवरण सात दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको हो।
मन्त्रालयको कर्मचारी प्रशासन शाखाले साउन ४ गते जारी गरेको पत्रमा लोक सेवा आयोगको स्वीकृत वार्षिक कार्यतालिकाअनुसार आर्थिक वर्ष २०८३/८४ का लागि स्थायी पदपूर्ति गर्नुपर्ने पदको विवरण माग गरिएको उल्लेख छ।
मन्त्रालयले निजामती सेवातर्फ राजपत्राङ्कित प्रथम र द्वितीय श्रेणी तथा स्वास्थ्य सेवातर्फ अधिकृत ११औँ र नवौँ तहका रिक्त पदको विवरण माग गरेको हो।
लोक सेवा आयोगमा माग आकृति फाराम पठाउनुपर्ने भएकाले सम्बन्धित निकायलाई आफ्नो कार्यालयमा रहेका रिक्त पदको विवरण तोकिएको ढाँचामा तयार गरी सात दिनभित्र इमेलमार्फत पठाउन भनिएको छ।
मन्त्रालयका अनुसार पठाइने विवरणमा सेवा, समूह वा उपसमूह, श्रेणी वा तह, पद, स्वीकृत दरबन्दी संख्या, कार्यरत कर्मचारी संख्या, रिक्त पद संख्या तथा रिक्त हुनुको कारण खुलाउनुपर्नेछ। अवकाश, बढुवा, राजीनामा, मृत्यु वा अन्य कारणबाट रिक्त भएका पदको विवरणसमेत समावेश गर्नुपर्ने मन्त्रालयले जनाएको छ।
मन्त्रालयले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पताल नर्सिङ क्याम्पस, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, स्वास्थ्य सेवा विभाग, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, औषधि व्यवस्था विभागलगायत निकायलाई परिपत्र गरेको छ।
यस्तै राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालगायत संस्थालाई समेत रिक्त दरबन्दीको विवरण उपलब्ध गराउन भनिएको छ।
मन्त्रालयले समयमै विवरण प्राप्त भएपछि लोक सेवा आयोगमार्फत स्थायी पदपूर्तिको प्रक्रिया प्रभावकारी रूपमा अघि बढाउन सहयोग पुग्ने जनाएको छ।



