

काठमाडौं- स्वास्थ्य बिमा कार्ड बोकेर उपचारका लागि सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र पुग्ने धेरै मुटुरोगीले अपेक्षित सुविधा पाउन सकेका छैनन्। अन्तरंग सेवामा स्वास्थ्य बिमा लागू नहुँदा नियमित उपचार र औषधि आवश्यक पर्ने बिरामीहरू ठूलो आर्थिक भार बेहोर्न बाध्य भएका छन्।
मुटुको समस्या लिएर इलामबाट काठमाडौं आएकी ४० वर्षीया सुनिता घिमिरे (नाम परिवर्तन) यसको उदाहरण हुन्। मुटुको साँघुरिएको नली खोल्न एन्जियोप्लास्टी गराएकी उनले स्वास्थ्य बिमाबाट उपचार खर्चमा राहत पाइने अपेक्षा गरेकी थिइन्। तर अस्पतालमा भर्ना भएर गरिने उपचारमा बिमा सुविधा नभएको थाहा पाएपछि उनी थप चिन्तित बनिन्।
सरकारी सहुलियतका अन्य कार्यक्रममा पनि उमेर र उपचारको अवस्थाका कारण आफू नपरेको उनले बताइन्। एन्जियोप्लास्टीपछि पनि नियमित उपचार आवश्यक पर्ने भएकाले खर्च बढ्दै गएको उनको भनाइ छ।
काठमाडौंमा उपचार, औषधि, बसाइ, खाना र यात्रामा मात्रै करिब एक लाख रुपैयाँ खर्च भइसकेको उनले बताइन्। स्थानीय अस्पतालमा भएको उपचार खर्च जोड्दा अहिलेसम्म दुई लाख रुपैयाँभन्दा बढी खर्च भएको छ। आगामी उपचारका लागि चारदेखि पाँच लाख रुपैयाँसम्म खर्च हुन सक्ने अनुमान गरिएको छ।
“उपचार खर्च जुटाउने कि परिवारको आवश्यकता पूरा गर्ने भन्ने समस्या भएको छ,” उनले भनिन्।
हेटौंडाकी पम्पा विश्वकर्माको परिवारले पनि यस्तै समस्या भोगिरहेको छ। मुटुको शल्यक्रिया गराएका श्रीमान्को उपचारका लागि उनी लामो समयदेखि अस्पताल धाइरहेकी छन्। विपन्न नागरिक उपचार कार्यक्रमबाट केही सहयोग पाए पनि बाहिरबाट औषधि किन्नुपर्दा थप खर्च बढेको उनले बताइन्।
मुटुरोगमा सबै बिरामीलाई शल्यक्रिया आवश्यक नपर्ने भए पनि धेरैलाई लामो समय औषधि सेवन र नियमित परीक्षण आवश्यक पर्छ। यस्ता बिरामीका लागि अन्तरंग सेवामा स्वास्थ्य बिमा नहुँदा उपचार निरन्तरता नै चुनौती बनेको छ।
सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका सूचना अधिकारी सुदीप दाहालका अनुसार अन्तरंग सेवामा स्वास्थ्य बिमा लागू नभएको गुनासो सेवाग्राहीबाट नियमित आउने गरेको छ। हाल अस्पतालमा बहिरंग सेवामा मात्रै बिमा सुविधा उपलब्ध छ, जसबाट बिरामीले २५ हजार रुपैयाँसम्मको सेवा लिन सक्ने व्यवस्था छ।
अस्पतालमा विपन्न नागरिक उपचार कार्यक्रम, ज्येष्ठ नागरिक सेवा र बाल मुटुरोगसम्बन्धी निःशुल्क सेवा सञ्चालनमा रहे पनि ती निश्चित समूहका लागि मात्र सीमित छन्। नियमित औषधि र फलोअप आवश्यक पर्ने धेरै बिरामी यी सुविधाबाट बाहिर छन्।
दाहालका अनुसार स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बनाउनुपर्ने भए पनि अस्पतालले सरकारबाट पाउनुपर्ने करिब ४० करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ। यही कारण अन्तरंग सेवामा बिमा विस्तार गर्न नसकिएको उनको भनाइ छ।
“बिमा गर्ने नागरिकले पाउने सुविधा व्यवहारमै उपयोग गर्न पाउने अवस्था बनाउन सरकारबाट बाँकी रकम प्राप्त हुन आवश्यक छ,” उनले भने।
मुटुरोगको उपचारमा औषधि, परीक्षण र पटकपटक अस्पताल धाउनुपर्ने भएकाले बिरामीको प्रत्यक्ष उपचार खर्चसँगै खाना, बसाइ र कुरुवाको खर्च पनि थपिन्छ। अस्पतालमा अन्तरंग सेवामा स्वास्थ्य बिमा विस्तार भए यस्ता परिवारको आर्थिक भार घट्न सक्ने अपेक्षा गरिएको छ।



