

काठमाडाैं- भारतले पहिलो पटक डेंगीविरुद्धको खोपलाई बजारमा प्रयोग गर्न अनुमति दिएको छ। जापानी औषधि कम्पनी ताकेदा बायो-फार्मास्युटिकल्सले विकास गरेको क्युडेंगा नामक खोपलाई भारतको औषधि नियामक निकाय ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डियाले स्वीकृति दिएको हो।
कम्पनीका अनुसार यो खोप ४ देखि ६० वर्ष उमेर समूहका व्यक्तिमा डेंगीको रोकथामका लागि प्रयोग गर्न सकिनेछ। यसलाई पहिले डेंगी संक्रमण भइसकेका वा नभएका दुवै व्यक्तिलाई कुनै अतिरिक्त परीक्षणबिना लगाउन मिल्ने बताइएको छ।
क्युडेंगा डेंगी भाइरसका चारैवटा सेरोटाइपविरुद्ध सुरक्षा प्रदान गर्ने ‘लाइभ-एटिन्युएटेड’ खोप हो। कम्पनीले सार्वजनिक गरेको सात वर्षसम्मको अध्ययनले यसले डेंगी संक्रमण र अस्पताल भर्ना हुनुपर्ने जोखिमलाई उल्लेखनीय रूपमा घटाएको जनाएको छ।
विश्वव्यापी क्लिनिकल परीक्षणका क्रममा १९ वटा ‘फेज १, २ र ३’ अध्ययनमा डेंगी प्रभावित तथा गैरप्रभावित क्षेत्रका २८ हजारभन्दा बढी सहभागी समावेश गरिएको थियो। अध्ययनअनुसार दोस्रो डोज दिएको १२ महिनापछि प्रयोगशालाबाट पुष्टि भएको डेंगी संक्रमणविरुद्ध खोपको प्रभावकारिता ८०.२ प्रतिशत रहेको पाइएको छ।
यस्तै, दोस्रो डोजपछि १८ महिनामा डेंगीका कारण अस्पताल भर्ना हुनुपर्ने अवस्थाविरुद्ध ९०.४ प्रतिशत प्रभावकारिता देखिएको छ भने ४.५ वर्षसम्मको अनुगमनमा दुई डोजले अस्पताल भर्ना हुनबाट ८४.१ प्रतिशत सुरक्षा प्रदान गरेको कम्पनीले जनाएको छ।
भारतमा गरिएको ‘फेज ३’ क्लिनिकल परीक्षणले पनि स्वस्थ वयस्क, किशोरकिशोरी तथा बालबालिकामा यो खोप सुरक्षित र प्रभावकारी रहेको पुष्टि गरेको बताइएको छ।
सन् २०२२ देखि विश्वका ४३ भन्दा बढी देशमा स्वीकृति प्राप्त गरिसकेको क्युडेंगा खोपका हालसम्म ३ करोड २० लाखभन्दा बढी डोज वितरण भइसकेका छन्।
यो खोप छालामुनि ०.५ मिलिलिटरको मात्रामा दिइन्छ। दुई डोजको यो खोपमा पहिलो डोज लगाएको तीन महिनापछि दोस्रो डोज दिनुपर्छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि डेंगी प्रभावित क्षेत्रमा क्युडेंगा खोपको प्रयोग सिफारिस गरेको छ। हालसम्म डेंगीको कुनै विशेष उपचार नभएकाले यस्तो खोपलाई रोग नियन्त्रणका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।



