

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले तयार पारेको प्रस्तावित संगठन तथा व्यवस्थापन (ओएनएम) संरचनाको प्रारम्भिक मसौदामा हाल कायम रहेको १२औँ तहको अतिरिक्त सचिव पद नराख्ने प्रस्ताव गरिएको छ।
प्रस्तावित संरचनाअनुसार मन्त्रालयको नेतृत्व सचिवले गर्ने व्यवस्था गरिएको छ। सचिवको मातहत तीन वटा महाशाखा र स्वास्थ्य आपत्कालीन तथा विपत् व्यवस्थापन एकाइ रहने प्रस्ताव गरिएको मन्त्रालयले जनाएको छ।
हाल स्वास्थ्य मन्त्रालयमा १२औँ तहको अतिरिक्त सचिवको दरबन्दी रहेको छ। तर नयाँ संरचनामा उक्त पदलाई निरन्तरता नदिने प्रस्ताव गरिएको हो।
मन्त्रालयका सचिव डा. विकास देवकोटाका अनुसार प्रस्तावित संरचनामा सचिवअन्तर्गत नीति, योजना तथा जनस्वास्थ्य समन्वय महाशाखा, स्वास्थ्य, खाद्य स्वच्छता तथा औषधी गुणस्तर नियमन महाशाखा तथा प्रशासन तथा सूचना प्रविधि महाशाखा रहने व्यवस्था गरिएको छ।
मन्त्रालयले संगठन संरचनालाई थप प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यसहित ओएनएम प्रस्ताव तयार पारेको जनाएको छ।



