

काठमाडौं – काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) स्क्रिनिङ कार्यक्रममा सहभागी महिलामध्ये ९० जनामा ह्युमन प्यापिलोमाभाइरस (एचपीभी) संक्रमण पुष्टि भएको छ।
महानगरको स्वास्थ्य विभागका अनुसार संक्रमण पुष्टि भएका अधिकांश महिलालाई स्क्रिनिङअघि आफू संक्रमित भएको वा कुनै स्वास्थ्य समस्या रहेको जानकारी थिएन। संक्रमितमध्ये २५ जनामा उच्च जोखिमयुक्त एचपीभी–१६ र एचपीभी–१८ प्रकारको संक्रमण देखिएको छ। तीमध्ये १२ जनामा एचपीभी–१६ र १३ जनामा एचपीभी–१८ पुष्टि भएको हो। बाँकी ६५ जनामा भने एचपीभीका अन्य प्रकारका संक्रमण फेला परेका छन्।
चैत १७ देखि वैशाख २१ सम्म सञ्चालन गरिएको स्क्रिनिङ कार्यक्रममा २ हजार ९७५ महिलाको परीक्षण गरिएको थियो। तीमध्ये २ हजार ७७९ जनाको एचपीभी डीएनए परीक्षण र १ हजार ४५० जनाको जेनोटाइप परीक्षण गरिएको स्वास्थ्य विभागले जनाएको छ। सीमित परीक्षण किटका कारण एचपीभी–१६ र १८ को परीक्षण भने १ हजार ३२९ महिलामा मात्रै गरिएको थियो।
संक्रमण पुष्टि भएका सबै ९० महिलाको कोल्पोस्कोपी परीक्षण गरिएको थियो। परीक्षणका क्रममा ११ जनामा सर्भिकल इन्ट्राअपिथेलियल नियोप्लासिया (सीआईएन) अर्थात् क्यान्सरपूर्व अवस्था देखिएको छ। तीमध्ये चार जनामा उच्च ग्रेड र सात जनामा न्यून ग्रेडको सीआईएन रहेको विभागले जनाएको छ।
महानगरले स्तन क्यान्सरको परीक्षण पनि सञ्चालन गरेको थियो। २ हजार ९६१ महिलाको स्तन परीक्षण गरिएकामध्ये ४११ जनाको म्यामोग्राफी गरिएको थियो। चार जनाको बायोप्सी गर्दा दुई जनामा स्तन क्यान्सर पुष्टि भएको छ र उनीहरू उपचाररत छन्।
स्वास्थ्य विज्ञहरूले पाठेघरको मुखको क्यान्सरको सुरुआती चरणमा प्रायः कुनै लक्षण नदेखिने भएकाले समयमै स्क्रिनिङ गराउनु अत्यन्त आवश्यक रहेको बताएका छन्। उनीहरूले स्थानीय तहका स्वास्थ्य संस्थामै नियमित क्यान्सर स्क्रिनिङ सेवा विस्तार गर्न पनि जोड दिएका छन्।
नेपालमा एचपीभी खोप नियमित खोप कार्यक्रममा समावेश भइसकेको छ। सरकारी स्वास्थ्य संस्थामार्फत १० वर्ष उमेरका बालिकालाई एक मात्रा एचपीभी खोप निःशुल्क उपलब्ध गराइँदै आएको छ, जसले विशेषगरी एचपीभी–१६ र १८ विरुद्ध सुरक्षा प्रदान गर्छ।



