

काठमाडौं- नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) को कार्यकारी निर्देशक छनोट प्रक्रियामा विगतमा व्यावसायिक आचरण र चिकित्सा अभ्याससँग सम्बन्धित विवादमा कारबाही भोगिसकेका डा. जितेन्द्र परियार संक्षिप्त सूची (सर्टलिस्ट) मा परेपछि छनोट प्रक्रियाको निष्पक्षता र मापदण्डबारे प्रश्न उठेको छ।
सरोकारवालाका अनुसार विगतमा गम्भीर लापरवाहीको आरोप खेपेका चिकित्सकलाई अस्पतालजस्तो संवेदनशील संस्थाको नेतृत्वका लागि सर्टलिस्टमा राखिनुले छनोट समितिको निर्णयमाथि नैतिक बहस सुरु भएको छ। डा. परियार सर्टलिस्टमा परेपछि उनीविरुद्ध नेपाल मेडिकल काउन्सिलमा बेनामी उजुरीसमेत परेको छ।
नेपाल मेडिकल काउन्सिलका निमित्त रजिस्ट्रार डा. दीपेन्द्र पाण्डेले डा. परियारसम्बन्धी विगतका कारबाहीबारे जानकारी माग गर्दै बेनामी उजुरी प्राप्त भएको पुष्टि गरे। उनका अनुसार उक्त विषय काउन्सिलको व्यावसायिक आचरण समितिमा पठाइएको छ र समितिको निर्णयपछि थप प्रक्रिया अघि बढ्नेछ।
वि.सं. २०६८ साउन २६ गते चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रुपन्देहीकी ३२ वर्षीया छमकुमारी बोहरा थाइराइड क्यान्सरको उपचारका लागि भर्ना भएकी थिइन्। तर, अस्पतालमा अर्की बिरामीसँग नाम मिल्दा उनलाई पाठेघरको शल्यक्रिया गरिएको थियो।
घटनापछि अस्पताल सञ्चालक समितिले चिकित्सक, नर्स र अन्य कर्मचारीसहित १३ जनालाई निलम्बन गरेको थियो। त्यतिबेला स्त्रीरोग विभागका चिकित्सक डा. जितेन्द्र परियारको टोलीले उक्त शल्यक्रिया गरेको बताइएको थियो।
आन्तरिक छानबिनसँगै स्वास्थ्य मन्त्रालय, नेपाल मेडिकल काउन्सिल र नेपाल नर्सिङ काउन्सिलले अनुसन्धान गरेका थिए। त्यसक्रममा नेपाल मेडिकल काउन्सिलले डा. परियारको चिकित्सकीय लाइसेन्ससमेत निलम्बन गरेको थियो।
यसैबीच, वि.सं. २०७९ मा पनि क्यान्सर पुष्टि भएकी एक बिरामीलाई प्रतिबन्धित औषधि सिफारिस गरेको आरोपमा उनीविरुद्ध स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा उजुरी परेको थियो।
हाल डा. परियार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा स्त्री क्यान्सर रोगका प्राध्यापक तथा निजामती कर्मचारी अस्पतालको स्त्री तथा प्रसूति रोग विभाग प्रमुखको जिम्मेवारीमा कार्यरत छन्।



